पोखरा– कोरोना भाइरस संक्रमण जोखिमबीच म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकममा मेला सञ्चालन गर्ने आयोजकमाथि कारबाही गरिएको छ।
जनस्वास्थ्य निर्देशिका उल्लंघन गरी मेला सञ्चालन गरेको भन्दै ताकमको सफल टोल सुधार क्लबका तीन अगुवालाई जरिवाना तिराइएको म्याग्दी डीएसपी किरणजंग कुँवरले जानकारी दिए।
उनीहरूलाई जनही एक सय रुपैयाँ जरिवाना र तीन दिन कैद सजाय तोकिएको छ। कैदबापत दैनिक तीन सय रुपैयाँसहित एकमुष्ट जनही एक हजार रुपैयाँका दरले कारबाही गरेर छाडिएको प्रशासनले जनाएको छ।
मेला सञ्चालन गरेको तस्बिर, भिडियोसँगै समाचार सार्वजनिक भएपछि प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको थियो।
उनीहरुले गल्ती स्वीकार गर्दै आगामी दिनमा भीडभाड हुन नदिने र कोरोनाविरुद्ध सचेतना फैलाउन स्वयंसेवा गर्ने प्रतिबद्धता जनाएका छन्।
‘खेलकुद प्रतियोगिताबारे कुनै जानकारी भए तत्काल खबर गर्न अनुरोध गर्छौं’, यस्ता गतिविधि अनुकूल समयमा गर्न सकिने भएकाले अहिले पूर्ण रूपमा कोरोनाको मापदण्ड पालना गराउन प्रतिबद्ध छौं’, डीएसपी कुँवरले भने।
संक्रामक रोग ऐन २०२० विपरीत काम गरेको देखिएकाले मेला सञ्चालनका अगुवालाई नै कारबाही गरिएको उनले बताए।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमाकान्त अधिकारीले सरकारी निर्देशन उल्लंघन गर्नेमाथि कारबाही गरिएको बताए।
‘ग्रामीण क्षेत्रमा लुकिछिपी खेलकुद गतिविधि सञ्चालन भइरहेको गुनासो आइरहेको छ। सबै सरोकारवाला निकायको साथ चाहिन्छ,’ अधिकारीले भने।
सरकारी नियमविपरीत कुनै किसिमका क्रियाकलाप गर्ने सामाजिक संघसंस्थालाई निलम्बन र खारेजीसमेत गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनले मेला आयोजना गर्ने क्लबको दर्ता नवीकरण निलम्बन गरेको छ।
प्रशासनले इलाका प्रहरी कार्यालय, चौकीमार्फत युवा क्लब, आमा समूहलाई समेत गतिविधि रोक्ने अभियानमा सघाउन र स्थानीय जनप्रतिनिधिलाई निर्देशिका कडाइसाथ पालना गराउन अपिल गरेको छ।
कोरोना फैलिन नदिन सरकारले भेला सम्मेलन, मेला, जात्रा, भोज, भतेर गर्न र मन्दिर लगायत धार्मिक स्थलमा पूजाआजासमेत बन्द गरेको छ।
अन्तरजिल्ला आवतजावतमा पन िरोक लगाइएको छ। यसअगाडि प्रहरीले बेनी नगरपालिका–१ मा हुन लागेको फुटबल प्रतियोगिताको सूचना प्राप्त गरेपछि स्थगित गर्न आयोजकलाई निर्देशन दिएको थियो।
म्याग्दीमा ४७ पुरुष र सात महिला गरी ५४ जनामा कोरोना संक्रमण भएको छ।
