बुधबार, चैत ४, २०८२

चर्चित खेलाडी नै रंगभेदको सिकार

समाजमा देखिएको प्रवृत्तिको असर खेलकुदमा पनि नपरिरहन सकेन। शनिबार राति भएको पीएसजी र मार्सेल्लीविरुद्धको खेलमा पनि यही भयो।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं– ‘सेतो अर्थात् सफा, कालो अर्थात् मैलो।’ रंगको यो विकृत रुपले कहिलेकाहीँ आक्रोशित बनाउँछ भने कहिले त लडाइँसम्म पनि गराउँछ। नभए मार्टिन लुथर किंगको वक्तव्य ‘आइ ह्याभ अ ड्रिम’ अहिलेसम्म पनि उत्तिकै सान्दर्भिक हुने थिएन।

National life

२३ अगस्ट १९६३ को उक्त भाषण आज पनि उत्तिकै सान्दर्भिक छ। त्यस्तै, विलियम वर्डस्वर्थले २१८ वर्षअघि लेखेको ‘रेन्बो’ नामक कविताको महत्व दुई शताब्दिसम्म घटेको छैन। त्यसमा पनि रंगभेदविरुद्धको गुणगान गाइएको छ। उक्त कविता अहिले पनि खुबै सान्दर्भिक लाग्छ, जब कुनै मानिस रंगको आधारमा विभेदमा पर्छ।

त्यस्तै मतिस्याहुको वान डे गीत २००९ अक्टोबर २५ मा यूट्युबमा रिलिज भयो। अहिलेसम्म यो गीत साढे सात करोडले हेरेका छन्। अन्य माध्यमबाट सुन्नेको संख्या यो भन्दा धेरै होला।

सन् १९०२ मै कलर फिल्म सुटिङ हुँदा पनि यो गीतको भिडियो भने ब्ल्याक एन्ड ह्वाइटमै प्रस्तुत गरिएको छ। दबिएको यहुदी समुदायप्रति इंगित यो गीतमा धर्मको कुरा नगरिए पनि स्वतन्त्रता कति महत्वपूर्ण छ भन्ने देखाइएको छ। यो गीत यहाँ सम्झनु किन उपयुक्त हुन्छ भने चाहे घनले प्रहार गरियोस् वा खुकुरीले, खुँडाले प्रहार गरियोस् वा बन्चरोले सबै अचानोको चोट एउटै हुन्छ।

रंगेभदमा परेका र अन्य कारणले सामाजिक दुर्व्यवहारको सिकार भएका मानिसको चोट समान हुन्छ। त्यसैले यो गीतले सबैको स्वतन्त्रताको कदर गरेको छ।

Laxmi sunrise bank
kumari

रंगभेद विरुद्धको यस्ता अवाज सदियौँदेखि उठिरहेका छन्। तर त्यसको अन्त्य कहिल्यै हुन सकेन। धेरै सुन्दा झिँझो लाग्ला तर, अमेरिकामा जर्ज फ्लोयड नामका अश्वेत नागरिकलाई एक श्वेत प्रहरी अफिसरले हत्या गरेपछिको विश्वमा रंगभेदको मुद्दा पेचिलो बनेको छ।

यसले विश्वलाई एकै आन्दोलनको डोरीमा लिएर गयो। विश्वभरका मानिसको जमघट हुने अमेरिकाको आन्दोलनले सबै देशलाई प्रभाव पार्यो। ग्लोबलाइजेसनले विश्वका मानिस जुन ठाउँमा गएर पनि काम गर्न पाउने भएपछि त छुट्टाछुट्टै संस्कृतिका मानिसको एकै ठाउँमा भेट भयो।

यसले विभन्न रंगका बाहिरी आवरण भएका मनिसप्रति विभेद उत्पन्न गराएको छ। यसले सीधा अफ्रिकन काला समुदाय र एसियन अल्पसंख्यकप्रति विभेद देखिने गरेको जानकारहरु बताउँछन्।

समाजमा देखिएको यस्तो प्रवृत्तिको असर खेलकुदमा पनि नपरिरहन सकेन। शनिबार राति भएको पीएसजी र मार्सेल्लीविरुद्धको खेलमा पनि यही भयो। ब्रजिलियन फुटबलर नेयमारलाई मार्सेल्लीका अल्भेरो गोन्जालेजले रंगभेदी टिप्पणी गरेपछि झगडा हुँदा नेयमारसहित पाँच खेलाडी खेलबाट बाहिरिए।

जब पीएसजीको खेल लडाइँमा बदलियो

उनले बाहिरिए लगत्तै फोर्थ अफिसियललाई आफू रंगभेदको सिकार भएको बताए। तर उनको आक्रोश त्यसै साम्य भएन। मोबाइल उठाएर ट्वीटरमा पोस्ट गरिहाले, ‘उसाई (अल्भेरो) मुखमा नहिर्काइ बाहिर फर्किएकोमा मलाई पछुतो छ।’

कसैको आत्मसम्मानमा चोट पुग्दा कति दुख्दो रहेछ त्यहीँबाट थाहा हुन्छ। फुटबलमा यस्ता घटना नौला होइनन्। त्यसैले विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियान्नी एन्फान्टिनोले रंगभेदको खुलेर विरोध गर्ने बताएका छन्।

एन्फान्टिनोको भनाइ र सामाजिक मर्यादाको पालना गर्दै पेरिस सेन्ट जर्मेन(पीएसजी)ले पनि आफ्ना कप्तान नेयमारलाई दह्रो साथ र सहयोग दिने बताएको छ। ‘समाज, फुटबल र जीवनमा रंगभेदका लागि कुनै ठाउँ छैन,’ पीएसजीले नेयमारको समर्थनमा भनेको छ, ‘हामी एलएफपी (फ्रान्सेली फुटबल गभर्निङ बडी)को अनुशासन समितिको अनुसन्धानमा सत्यतथ्य पत्ता लगाउन सहयोग गर्नेछौं।’

यता मार्सेल्लीले पनि एउटा सूचना जारी गर्दै गोन्जालेल ‘रेसिस्ट’ प्रवृत्तिको नभएको र यो कुरा टिममा टेस्ट भइसकेको बताएको छ। गोन्जालेजले रंगभेदको कुरा अस्विकार गर्दै नेयमारलाई ‘ब्यालड लुजर’को संज्ञा दिएका छन्। सत्य कसको पक्षमा छ, त्यो देखिँदै जाला तर रंगभेदको धागो लामो समयबाट खेलमा जेलिएको भने प्रष्ट छ।

के फुटबलमा मात्र छ रंगभेद ? त्यो पनि होइन। क्रिकेट, बास्केटबल देखि मोटर स्पोर्टसम्म विभेद फैलिएको छ।

भर्खरै सम्पन्न यूएस ओपनअघि सञ्चालन भएको वेस्टर्न–साउदर्न(सिनसिनाटी) ओपन टेनिसमा पनि रंगवादको ठूलो असर पर्यो। प्रतियोगिताका दौरान अमेरिकामा ज्याकोव ब्ल्याकेको हत्या भएपछि सेमीफानल खेल नै एक दिनका लागि स्थगित भएको थियो। ब्ल्याकलाई उनकै कारमा प्रहरीले गोली हानी हत्या गरेका थिए।

यता, उपाधि दावेदार जापानी खेलाडी नाओमी ओसाकाले यसैकारण प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिइन्।

उनले आफू टेनिस खेलाडीभन्दा पहिले अश्वेत समुदायको रहेको र जारी विरोधका क्रममा खेलभन्दा ठूलो कुरा आन्दोलनको समर्थन गर्नु सही हो भन्दै खेलबाट नाम फिर्ता लिएकी थिइन्।

यूएस ओपनमा पनि रंगभेदको विरोध कायमै रह्यो। ओसाकाले विभिन्न सात खेलमा रंगभेदका कारण मारिएका सात मानिसको नाम लेखिएको मास्क लगाएर सहभागी बनिन्। त्यसमा ब्रेओन्ना टेलर, लिजाह म्याकक्लान, अहमद अर्बेरी, ट्रेभेन मार्टिन, जर्ज फ्लोयड, फिलान्डो क्यास्टिल र तमिर राइसको नाम लेखिएको थियो। यी सबै मानिसको हत्या रंगभेदका कारण भएका थिए।

अमेरिकामा फ्लोयडको हत्या भएपछि फुलबलर पाउल पोग्वा, रहिम स्टर्लिङ, जार्डन साञ्जे लगायतका खेलाडीले आवाज उठाए। सोही समयमा टी–२० क्रिकेटका युनिभर्स बोस क्रिस गेलले क्रिकेटमा पनि रंभगेद हावी रहेको बताएका थिए।

त्यस्तै वेस्ट इन्डिजका अर्का खेलाडी डर्रेन सामीले सनराइजर्स हैदराबादबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्दा रंगभेदको सिकार भएको बताए। उनलाई खेलका दौरान भारतीय खेलाडी इरफान पठानले ‘कालु’ भनेका थिए। तर उनले त्यसको अर्थ लगत्तै बुझेनन्। उनलाई लागेको थियो कालु भनेको राम्रै भनेको होला। तर ‘कालु’ शब्दले कालो अर्थात् ब्ल्याक भन्ने अर्थ दिन्छ भन्ने बुझेपछि उनले इन्स्टाग्राममा पोस्ट गर्दै आक्रोश व्यक्त गरेका थिए।

कोरोना महामारीपछि इंग्ल्यान्डविरुद्धको तीन खेलको सिरिजअघि वेस्ट इन्डिजका कप्तान ज्यासन होल्डरले पनि क्रिकेटमा रंगभेद छैन भन्नु मुर्खता रहेको बताएका थिए। विश्वमा रंगभेदविरुद्धको आन्दोलन चलिरहेको समयमा इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिजले ब्ल्याक लाइभ्स म्याटर लेखेको जर्सी प्रयोग गरेको थियो।

त्यस्तै, पछिल्लो वर्ष पाकिस्तानी क्रिकेट कप्तान सर्फराज अहमदले दक्षिण अफ्रिकाका एन्डिले फलेक्वायोमाथि रंगभेदी टिप्पणी गरेका कारण २ वटा एकदिवसीय खेलमा प्रतिबन्धमा परे।

नेपालमै पनि पछिल्लो सिजनको सहिद स्मारक ए डिभिजन लिग रंगभेदबाट मुक्त रहन सकेन।

प्रकाशित: Sep 16, 2020| 08:14 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।