काठमाडौं– नेपाल प्रहरीका कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरिएको छ।
प्रहरी मुख्यालयले प्रहरी कर्मचारी आचार संहितासम्बन्धी कार्यादेश, २०७७ जारी गर्दै सामाजिक सञ्जालबाट राष्ट्रिय अखण्डतामा खलल पार्ने, साम्प्रदायिक दंगा भड्काउने, आतंककारी गतिविधिलाई प्रश्रय दिने, शान्तिसुरक्षामा खलल पार्ने तथा अपराध अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि प्रकाशन र प्रसारणमा रोक लगाएको हो।
ती गतिविधिमा लाइक, कमेन्ट, सेयर, ट्याग, ट्विट र रिट्विट गर्न पनि नपाइने आचारसंहितामा उल्लेख छ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम आचार संहितासम्बन्धी कार्यादेश, २०७७ जारी गरेका हुन्।
‘नागरिकको जिउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्न अहोरात्र खटिने प्रहरी कर्मचारीको आचरण एवं व्यवहारमा समयानुकूल सुधार गर्दै शिष्ट, मर्यादित, जबाफदेही, कर्तव्यनिष्ठ, नैतिकता र अनुशासनप्रति प्रतिबद्ध बनाउन वाञ्छनीय भएकाले कार्यादेश बनाइएको हो,’ प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रहरी कर्मचारीले बिना अनुमति विदेशी नियोग, विदेशी कूटनीतिक व्यक्ति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग भेटघाट, सम्पर्क तथा सहकार्य गर्न पाउने छैनन्।
‘प्रहरी कर्मचारीले सेवा प्रवाह गर्दा, सेवाग्राहीसँग व्यवहार गर्दा वा व्यक्तिगत एवं पेसागत कर्तव्य निर्वाह गर्नुपर्दा सेवाग्राहीसँग कुनै प्रकारको आग्रह वा पूर्वाग्रह राख्न नपाइने कार्यादेशमा उल्लेख छ।
यस्ता छन् आचार संहितासम्बन्धी कार्यादेश, २०७७ मा समेटिएका विषय
१. प्रहरी कर्मचारीहरूले समयको पालना गर्ने, व्यक्तिगत आचरण तथा अनुशासनमा रही आफ्नो काम, कर्तव्य इमानदारी र तत्परताको साथ पालना गर्नुपर्ने। जाति विशेष, लिंग विशेष, धर्म विशेष, सम्प्रदाय विशेष, शरीर विशेषका आधारमा होच्याउने, हेप्ने, टिप्पणी गर्ने, मजाक गर्ने, हाउभाउ प्रकट गर्ने जस्ता क्रियाकलाप गर्न नहुने।
२. प्रहरी व्यवसायिकतालाई आत्मसात् गरी प्रहरी अधिकृत तथा जवानहरूबीच एकापसमा भाइचारापूर्ण एवं सुमधुर पारस्परिक सम्बन्ध कायम गर्ने।
३. कार्यालयको कामको सञ्चालन र कार्यसम्पादन सम्बन्धमा आफ्नो काम प्रति अद्यावधिक भइरहनुपर्ने र आजको काम आजै गर्ने परिपाटी विकास गर्नु पर्ने र आफूले सम्पादन गरेको कार्यको संस्थागत अभिलेख तोकिएको ढाँचामा राख्ने।
४.आर्थिक कारोबार र बजेट सञ्चालनमा संलग्न प्रहरी कर्मचारीले प्रचलित आर्थिक ऐन, नियम, तालुक तथा अर्थ मन्त्रालयबाट जारीनिर्देशिका र प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरशः पालना गर्ने र आर्थिक पारदर्शिता कायम गर्ने।
५.प्रहरी कर्मचारीले कार्यप्रकृतिका आधारमा जनपद वा प्राविधिक जुनसुकै समूहअन्तर्गतको जिम्मेवारीमा रहे पनि नागरिकमैत्री अवधारणाअनुरुप सेवाग्राहीलाई सेवा प्रवाह गर्नुगराउनु पर्ने।
६.प्रहरी कर्मचारीले ड्युटी गर्दा तथा सेवा प्रवाह गर्दा विनम्रताका साथ सभ्य र शिष्ट बोलीचालीको प्रयोग गरी यथासम्भव शीघ्र, सहज र जबाफदेही ढङ्गबाट सेवा प्रदान गर्नुपर्ने र फरक क्षमता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिक तथा बालबालिकाहरूलाई प्राथमिकतामा राखी सेवा प्रवाह गर्ने।
७. प्रहरी कर्मचारीले आफ्नो पदीय जिम्मेवारी र दायित्वसँग असम्बन्धित कार्यक्रममा सहभागी हुन, सम्बोधन गर्न, मन्तव्य दिन या अन्य टीकाटिप्पणी गर्न नहुने।
८.प्रहरी कर्मचारीले व्यक्तिगत स्वार्थपूर्ति वा आफ्नो व्यक्तिगत लोकप्रियताको लालचमा सञ्चारमाध्यम प्रयोग गर्न तथा सोही प्रयोजनले सूचना चुहावट वा सम्प्रेषण गर्न नहुने।
९.कार्य सम्पादनका क्रममा प्रचलित अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानुन, नेपाल सरकार तथा प्रहरी संगठनले अवलम्बन गरेको मानव अधिकार सम्बन्धी सिद्धान्तको संरक्षण, संवद्र्धन तथा परिपालना गर्नुपर्ने।
१०. अभिवादनस्वरूप हात मिलाउनु स्वाभाविक भए तापनि विपरीत लिंगीलाई मौका पाउनासाथ थपथपाउने वा मुसार्ने, टॉसिने, छुने, चिमोट्ने कार्य नगर्ने, राम्रो काम गरेबापत स्पर्श गर्न पाउने मनसायले विपरीत लिंगीलाई धाप मार्नु नहुने।
११. कार्यादेशको पालना सम्बन्धमा प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी एकाइ कार्यालय, महानगरीय प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयमा गठित छुट्टाछुट्टै अनुगमन समितिले अनुगमन गर्ने।
