सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

भोक मेट्न भारततिरै

कोरोना भाइरस संक्रमणको डरले स्वदेश फर्केका नेपाली युवा महामारी तीव्र भएकै बेला भारततर्फ गइरहेका छन्।
 |  मंगलबार, भदौ ३०, २०७७
nespernesper

भीम चौधरी

भीम चौधरी

मंगलबार, भदौ ३०, २०७७

धनगढी– कोरोना भाइरस संक्रमणको डरले स्वदेश फर्केका नेपाली युवा महामारी तीव्र भएकै बेला भारततर्फ जान थालेका छन्। स्वदेशमा काम नपाएर भोकभाेकै बस्नुपर्ने अवस्था आएपछि भारत फर्कन बाध्य भएको उनीहरू बताउँछन्।

triton college

भारत फर्कनेमध्येका एक हुन्- कैलालीको गोदावरी नगरपालिका–५ गेटाका किरण चन्द।

‘यहाँ नोकरी मिल्दैन,’ त्रिनगर नाकामा भारत जान लाममा उभिएका चन्दले भने, ‘जोखिम भएर के गर्ने ? घरपरिवार त सम्हाल्नुैपर्यो।’ उनी जेठमा स्वदेश फर्किएका थिए।

लामो समयदेखि गुजरातमा नोकरी गरिरहेका चन्द भारतमा कोभिड–१९ का संक्रमित देखिन थालेपछि नेपाल आएका थिए।

भारत जानेको लाममा कञ्चनपुर पुनर्वास नगरपालिकाका दीपक रोकाय पनि भेटिए। चैतमा नेपाल आएका रोकाय पनि घरखर्च चल्न समस्या भएपछि दिल्लीतर्फ लागेका छन्।

Metro Mart
vianet

कोरोना महामारी तीव्र भएपछि भारतमा मार्च २४ देखि देशभर लकडाउन भयो।

हजारौं नेपालीले रोजगारी गुमाए र स्वदेश फर्किन थाले। नेपालमा पनि सोही मितिदेखि लकडाउन सुरु भयो। तर त्यति बेला नेपालमा कोरोना संक्रमित नगण्य थिए।

अहिले नेपाल र भारत दुवैतिर कोरोना संक्रमणले महामारीको रूप लिएको छ। भारतमा दैनिक करिब एक हजारको मृत्यु भइरहेको छ भने ८० हजारभन्दा बढी संक्रमित थपिइहेका छन्।

यस्तै नेपालमा दैनिक एक हजार हाराहारीमा संक्रमित थपिइरहेका छन् भने औसत पाँचजनाको मृत्यु भइरहेको छ।

त्रिनगर नाका भएर अचेल दैनिक आठ सयभन्दा बढी युवा भारत जाने गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उक्त नाकाबाट सोमबार आठ सय ४७ जना भारत गएको प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। उनका अनुसार स्वदेश फर्कने भन्दा विदेश जानेको संख्या बढी छ।

कञ्चनपुरको गड्डाचौकी नाका भएर सोमबार ६६ जना भित्रिएको र ५३ जना भारत गएको थापाले बताए।

चैतयता गड्डाचौकी नाकाबाट १० हजार ६ सय ७५ जना भारत गएको प्रहरी तथ्यांक छ। यस अवधिमा ३७ हजार १३६ जना नेपाल फर्किएका छन्।

भदौ १२ गतेयता त्रिनगर नाकाबाट ७ हजार ५०४ जना भारत गएका छन् भने ६ हजार तीन सय ९३ जना स्वदेश फर्किएका छन्।

कैलाली र कञ्चनपुर नाका हुँदै सोमबार आठ सयभन्दा बढी नेपाली भारत प्रवेश गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार त्रिनगर नाका हुँदै ७५६ र गड्डाचौकी नाका हुँदै ६३ जना भारत गएका छन्। आइतबार गड्डाचौकी र त्रिनगर नाकाबाट ५४२ जना भारत पसेका थिए भने शनिबार ५२१ जना भारत फर्किए।

सुदूरपश्चिमका सबै जिल्लाबाट अहिले रोजगारीका लागि भारत जाने क्रम बढेको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार भारतबाट नेपाल आउनेभन्दा भारत जानेको संख्या बढी छ।

यस्तै कैलालीको गौरीफन्टा नाकाबाट भदौ १ देखि १५ गतेसम्म झन्डै एक हजार नेपाली स्वदेश फर्किएका छन् भने एक हजार ७०० भारत गएका छन्।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सीमा नाका बन्द भए पनि देशको परिचय खुल्ने कागजातका आधारमा भने आआफ्नो देश जान पाइरहेको बताए।

उनले भने, ‘सामान्य रुपमा भारत जाने मजदुरीकै लागि हो। भारत जाने नेपालीलाई त्यहाँको परिचय खुल्ने कागजात र रोजगारदाताले दिएको स्वीकृतिका आधारमा सीमा पार गर्न दिएका छौं।’

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये ९ हजारलाई तत्काल स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अगाडि बढाएको छ। तर, त्यो हात्तीको मुखमा जिराजस्तै भएको छ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/०७८ मा कोरोना प्रभावित तथा विदेशबाट फर्केका र बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका विभिन्न कार्यक्रम अगाडि बढाएको छ।

मन्त्री विनिता चौधरीले कृषि क्षेत्रमा केही गर्न चाहने तथा कृषिमै सम्भावना देखेका व्यक्तिलाई राहत प्रदान गर्ने कार्यक्रम ल्याएको बताइन्।

मन्त्रालयले कृषि तथा पशुपन्छी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई इच्छापत्र पेस गर्न सूचना जारी गरेको उनले जानकारी दिइन्।

मन्त्रालयले असोज ६ गतेभित्र जिल्लास्थित कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गाउँपालिका तथा नगरपालिकाको कृषि शाखामा इच्छापत्र पेस गर्न अपिल गरेको छ।

तरकारी खेती, च्याउ खेती, मौरीपालन, भेडा–बाख्रापालन, बंगुरपालन, फलफूल खेती, गाईभैंसीपालन, माछापालन, कुखुरा, हाँस तथा अन्य मासुजन्य पन्छीपालन, नर्सरी तथा पुष्प व्यवसाय गरी १० वटा कृषि क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिलाई कार्यक्रम प्रदान गरिने मन्त्रालयले जनाएको छ। कार्यक्रमका लागि १५ करोड बजेट विनियोजन भएको छ।

स्थानीय युवा भने सरकारले स्वरोजगारको कार्यक्रम ल्याए पनि त्यो पर्याप्त नभएको र प्रक्रियागत झन्झट बढी भएको भन्दै भारत पलायन हुन थालेका छन्।

प्रकाशित: Sep 15, 2020| 14:45 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।