काठमाडौं– एसिया प्यासिफिक यूनियन स्थापनामा जोड दिंदै तीन दिने अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन सकिएको छ।
२६ देखि २८ भदौसम्म भएको भर्चुअल सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका ८१ देशका १० हजारभन्दा बढी सहभागी थिए।
सम्मेलनमा विश्वव्यापी संकटको समयमा ‘आशा र अवसरः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी साझा मूल्य मान्यता’ विषयमा छलफल भएको थियो।
राष्ट्रप्रमुख, सांसद, अन्तरधार्मिक नेतृत्व, महिला नेतृत्व, आमसञ्चार, शिक्षा, व्यवसायी र युवा तथा विद्यार्थी गरी आठ क्षेत्रमा विभाजन गरी छलफल गरिएको थियो।
सम्मेलनको आयोजना राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदको महापरामर्शदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पीस फेडेरेसन (यूपीएफ) ले प्रायोजन गरेको थियो।
सम्मेलन अमेरिका, यूरोप, अफ्रिका, मध्यपूर्व तथा एसिया प्रशान्त क्षेत्रका अध्यायहरूमा समानान्तर रुपमा सञ्चालन गरिएको थियो ।
नेपालका लागि भारतीय पूर्व राजदूत केभी राजनले सम्मेलनमा बोल्दै यूपीएफ सरकार र संयुक्त राष्ट्र संघजस्ता अन्तर्राष्ट्रिय निकायलाई बाँध्न सक्ने र चुनौतीको सामना गर्न सहयोग पुर्याउन सक्ने संस्था भएको बताए।
की यूपीएफ कोरियाकी अध्यक्ष प्रा. योन् अह मुनले एसिया प्रशान्त यूनियन स्थापनाको महत्वका बारेमा प्रकाश पारेकी थिइन्।
यूनिभर्सल पीस फेडेरेसनको स्थापना सन् २००५ सेप्टेम्बर १२ मा अमेरिकाको न्यूयोर्कस्थित प्रसिद्ध लिङ्कन सेन्टरमा आयोजित समारोहकाबीच गरिएको थियो।
