काठमाडौं– सत्तारुढ नेकपाका अध्यक्षद्वयले भविष्यमा गल्तीकमीकमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले साेमबार पार्टी पंक्तिमा निर्देशन (सर्कुलर) जारी गरी यस्ताे प्रतिबद्धता जनाएका हुन्।
निर्देशनमा पार्टीलाई अनुसाशित र मर्यादित तुल्याउने प्रण गरिएको छ। यस्तै पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभाबी लेख्न पनि नपाइने उल्लेख छ।
निर्देशनमा सार्वजनिक रूपमा गरिने तथ्यहीन र अमर्यादित आरोपप्रत्यारोप बन्द गर्न भनिएको छ। पार्टी हितविपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न जिम्मेवार सम्बद्ध सबैलाई निर्देशित गरिएको छ।
स्थायी कमिटी बैठकको निर्णय जारी गर्दै विभिन्न सन्दर्भमा नेतृत्व तहबाटै पनि गम्भीर गल्तीकमीकमजोरी हुन पुगेकाले अब यस्ता कमीकमजोरी नहुने प्रण गरिएको छ।
पार्टी स्थायी कमिटी बैठकको निर्णयअनुसार अब पार्टी विवादलाई कटुतापूर्ण र यदाकदा शत्रुतापूर्ण तहमा भड्काउन खोज्ने काम कसैले गर्न पाउने छैन।
स्थायी कमिटीले पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुटगुटका अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रुपमा आरोपप्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासलाई कडाइका साथ नियन्त्रण गर्ने निर्णय गरेको छ।
‘संस्थागत प्रणाली र वैधानिक व्यवस्थालाई चुनौती दिने प्रवृत्ति झ्याँगिँदै जाँदा पद्धतिहीनता, गुटबन्दी, अराजकता र अनुशासनहीनता फैलिँदै गयो। पार्टीभित्रका अन्तरविरोधलाई समाधान गर्न नसक्दा आन्तरिक एकता कमजोर भएको छ,’ निर्देशनमा भनिएको छ।
अध्यक्षद्वयले सबै नेताकार्यकर्ता तथा सदस्यहरूलाई आआफ्ना गल्ती, कमीकमजोरीप्रति आत्मसमीक्षा र आत्मालोचित हुँदै भविष्यमा त्यस प्रकारका गल्ती, कमजोरी दोहोरिन नदिन निर्देशित गरेका छन्।
निर्देशनमा आफ्नो मत वा असहमति कमिटी प्रणालीअन्तर्गत मर्यादित रूपमा राख्न र गुटबन्दीपूर्ण क्रियाकलाप नगर्न भनिएको छ।
बैठक चल्दै गर्दा हामी यसलाई सफलतापूर्वक सम्पन्न गर्न सक्छौं वा सक्तैंनौं ? पार्टीको एकता अक्षुण्ण रहन्छ वा रहँदैन? भन्नेसम्मको अवस्था उत्पन्न भएको स्वीकारिएको छ।
निर्देशनमा पार्टीमा विग्रह र विभाजनको अपेक्षा गरेका देशीविदेशी प्रतिक्रियावादी शक्तिहरू उत्साहित हुने र पार्टीका नेता, कार्यकर्ता, सदस्य तथा आम नेपाली जनता निराश हुनेसम्मको अवस्था देखा परेको परिस्थिति बनेको बताइएको छ।
महत्वपूर्ण बुँदा
एकताको महत्व आत्मसात गर्ने
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनु ऐतिहासिक एवम् दूरगामी महत्वको घटना हो ।
यस एकताले राजनीतिक स्थायित्व सुनिश्चित गर्नुका साथै संविधानको रक्षा एवम् कार्यान्वयन गर्ने, सामाजिक न्यायसहितको विकास एवम् समृद्धि हासिल गर्ने र जनताको जनवाद कार्यान्वयन गर्दै समाजवादतर्फ अघि बढ्ने बलियो आधार प्रदान गरेको छ ।
संविधान सभाबाट निर्माण गर्ने जटिल जिम्मेवारी हाम्रो एकता र अग्रसरतामा सफल भएको थियो । असम्भवझैं ठानिएको चुनावी गठबन्धन र ऐतिहासिक पार्टी एकता पनि हाम्रै दूरदृष्टि, सुझबुझपूर्ण र साहसिक निर्णयको परिणाम थियो ।
तर अभूतपूर्व, असाधारण र ऐतिहासिक महत्वका कामहरूद्वारा इतिहासको गतिलाई तीव्रता दिने र नेपाली समाजको परिवर्तन तथा प्रगतिको प्रवाहलाई गतिदिने नेतृत्वपंक्तिको ध्यान एकता प्रक्रियाका बाँकी काम समयमै सम्पन्न गर्ने र आन्तरिक जीवनमा उत्पन्न अन्तरविरोधसमाधान राख्दै पार्टी एकतालाई बलियो बनाउने विषयमा केन्द्रित हुन सकेन ।
पार्टी एकतालाई अक्षुण राख्दै र पार्टीभित्रको अन्तरबिरोधलाई सकारात्मक ढंगले समाधान गर्दै उद्देश्य केन्द्रित भएर अघि बढ्नुको साटो पार्टी एकता नै संकटमा पर्नेगरी अन्तरबिरोध बढ्दै गयो । पार्टी एकता जोगाउन र जनता एवम् राष्ट्रको पक्षमा क्रियाशील रहन सक्दा मुलुकमा लामो समयसम्म यस पार्टीको अविच्छिन्न नेतृत्व रहने पनि सुनिश्चित छ ।
तसर्थ पछिल्ला दिनहरूमा पार्टीको आन्तरिक जीवनमा प्रकट भएका तिक्ततापूर्ण अन्तरविरोधहरूले पार्टी एकताको औचित्य र पार्टी एकताबाट प्राप्त भएका ऐतिहासिक उपलब्धिहरूलाई खण्डित गर्न सक्तैनन् ।
अन्तरविरोध उत्कर्षमा पुगेर स्थायी कमिटीको बैठक समेत अवरुद्ध हुन गएको परिस्थितिको गम्भीरतालाई महसुस गर्दछ । विगतका कमीकमजोरीहरूबाट शिक्षा लिने, पार्टी भित्रका, विशेषतः नेतृत्व तहका असमझदारी, अविश्वास र अन्तरविरोध समाधान गर्ने, परस्परमा विश्वास कायम गर्ने र पार्टी एकताको रक्षा एवम् विकास गर्ने संकल्प गर्दछ ।
सबैखाले प्रतिकृयावादी तथा अवसरवादी षडयन्त्र तथा दाउपेचहरूलाई चिर्दै पार्टी एकतालाई अक्षुण राख्ने र जनता एवम् राष्ट्रको हितमा समर्पित, निस्वार्थ एवम् सिद्धान्तनिष्ठ एकताको पक्षमा दृढताका साथ उभिने प्रतिज्ञा गर्दछ ।
आन्तरिक विवादलाई कटुतापूर्ण र यदाकदा शत्रुतापूर्ण तहमा भड्काउन खोज्ने, पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट गुटका अलग अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रुपमा आरोप प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरूलाई कडाइकका साथ नियन्त्रण गर्ने ।
पार्टीलाई अनुसाशित र पार्टीभित्रको बहस विवादलाई विधिसम्मत तथा मर्यादित तुल्याउने प्रण गर्दछ । पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावि लेख्ने र पार्टी हितविपरित गतिविधि गर्ने प्रवृतिलाई कडाइका साथ रोक्न जिम्मेवार कमरेडहरू र सम्बद्ध सबैलाई निर्देशित गर्दछ ।
एकताका बाँकी काम सम्पन्न गर्ने
पार्टी एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भएको दुई वर्ष बितिसकेको छ । आजसम्म आइपुग्दा पार्टी एकताका सम्पूर्ण कामका साथै सदस्यता नविकरण, प्रदेश तथा स्थानीय कमिटीका अधिवेशन र राष्ट्रिय अधिवेशनसमेत सम्पन्न भइसक्नुपर्ने थियो ।
तर अहिलेसम्म पनि एकता एकीकरणका कतिपय महत्वपूर्ण कामहरू समेत सम्पन्न हुन सकेका छैनन् । फरक फरक राजनीतिक कार्यदिशा र पृष्ठभूमिले निर्माण गरेको मनोविज्ञान, प्रमुख नेताहरूबीचमा बेला बेलामा उत्पन्न असमझदारी र एकीकरणका संगठनात्मक विषयहरूमा सहमति हुन नसक्ने तथा कोभिड १९ महामारीजस्ता समस्याहरूले एकीकरण प्रक्रियामा अनपेक्षित विलम्ब हुन पुगेको छ । अब पार्टी एकताको कामलाई तीव्र रूपले अघि बढाइनेछ ।
सरकारको कामका सम्बन्धमा
सरकारको कामलाई कोभिड १९ महामारीले सिर्जना गरेको चुनौतीको सामना, सीमा समस्याको समाधान, चुनावी घोषणा–पत्र र पार्टी तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिबद्धताहरूको कार्यान्वयन जस्ता महत्वपूर्ण विषयहरूमा केन्द्रित गर्ने ।
भ्रष्टाचार तथा अनियमितताका सम्बन्धमा सरकार आफैले थालेका छानविन प्रक्रियालाई यथाशक्य चाँडो निष्कर्षमा पुर्याउने ।
सार्वजनिक रुपमा उठेका जनसरोकारका विषयमा सत्यतथ्य सार्वजनिक गर्ने । भ्रष्टाचार र अनियमित कार्यप्रति शून्य सहनशीलताको मान्यता अनुरुप दोषिमाथि कडा कानुनी कारवाही गर्ने ।
शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने
शान्ति प्रक्रियाको महत्वपूर्ण पक्ष रहेको सत्य निरुपण तथा मेलमिलाप आयोग तथा वेपत्ता व्यक्तिहरूको छानविन सम्बन्धी आयोगको काम टुंग्याउन अझै बाँकी छ ।
लामो छलफल र संवाद प्रक्रिया पार गरेर वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी ऐन निर्माण र संशोधन गरियो ।
दुई बेग्ला बेग्लै आयोग गठन भए । शान्ति प्रक्रियाका बाँकी काम नटुंगिदा दिगो शान्ति स्थापनाका प्राप्त उपलब्धिहरू ओझेलमा पर्ने र चुनौती थपिनसक्ने सम्भावना रहन्छ ।
शान्ति प्रक्रियाका बाँकी कामहरू समयमा सम्पन्न गर्ने, पीडितहरूमा असन्तुष्टि र पीडा थपिन नदिने, विषयको संवेदनशिलतामाथि खेल्न नदिने र विश्वमै उदाहरणीय रहेको नेपालको शान्ति प्रक्रियामाथि अनावश्यक प्रश्न उठन नदिने गरी समस्याको समाधान गर्न जरुरी छ ।
एमसीसी अनुमोदन
संसद्मा विचाराधीन रहेको एमसीसी परियोजना सम्झौता अनुमोदन गर्ने नेकपाले निर्देशन दिएको छ । राष्ट्रिय हीतमा स्पष्ट पार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने उल्लेख छ ।
नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेञ्ज कर्पाेरेशन बीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता यतिबेला संसद्मा अनुमोदनको लागि विचाराधीन अवस्थामा छ ।
सो सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नुअघि आवश्यक अध्ययन गरी सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोस्रो बैठकबाट कार्यदल गठन गरिएको थियो ।
