वीरगन्ज- पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको आईसीयूमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको सोमबार राति मृत्यु भएको हो ।
अस्पताल भर्ना भएको ८ घण्टामै उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसिया जानकारी दिए । उनलाई सोमबार बिहान सवा ११ बजे नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनको मृत्यु बेलुका ७ बजे भएको हो ।
मृतक महिलामा जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित रहेको अस्पतालले जनाएको छ ।
योसँगै वीरगन्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । जसमध्ये ४१ जना पर्साका छन् । बाराका १४, रौतहटका ४ जना र सर्लाहीका १ जना छन् भने दुई जनाको ठेगाना खुलेको छैन ।
