काठमाडौं- नेपाल रेल्वे कम्पनी लिमिटेडले ठूलो संख्यामा करारमा कर्मचारी भर्ती गर्ने तयारी गरेको छ।
कम्पनीले २९ पदका लागि १२९ जना कर्मचारी भर्ना गर्ने गरी सोमबार गोरखापत्रमा विज्ञापन प्रकाशित गरेको छ। जनकपुर–जयनगर रेल सञ्चालनको लागि स्टेशन मास्टरदेखि टिकट कलेक्टरसम्मको माग भएको हो।
कम्पनीले प्रशासनतर्फ एक जना शाखा अधिकृत, कानूनतर्फ १ जना अधिकृत र तीन जना स्टेसन मास्टरको माग गरेको छ ।
यस्तै सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, लेखापाल, कम्प्युटर अपरेटर, क्यासियर, टिकट विक्रेता सहायक, टिकट कलेक्टर, ट्रली चालक, हेल्पर, कार्यालय सहयोगी लगायतको पदका लागि समेत विज्ञापन आह्वान गरिएको छ।
गेटम्यानका लागि सबैभन्दा धेरै कर्मचारी २५ जना मागिएको छ । त्यस्तै रेल प्रशासनतर्फ चौथो तहका लागि १० जना, पाँचौ तहका लागि ९ जना मागिएको छ ।
आवेदकले असोज १२ गते भित्र रेल्वे कम्पनीको वेबसाइट https://nepalrailway.org/ मार्फत् विभिन्न विज्ञापनमा अनलाइन दरखास्त भर्न सक्ने जनाएको छ।
कम्पनीले अधिकृतको लागि १००० रुपैयाँ, सहायक स्तरको लागि ४०० रुपैयाँ र श्रेणी विहिन स्तरको लागि ३०० रुपैयाँ दस्तुर तोकेको छ।
