सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोमा परेर वेपत्ता भएकाहरुमध्ये थप दुई जनाको शव भेटिएको छ ।
बेपत्ता भएकाहरुको खोजी कार्य तिब्र पारेको प्रहरीले आज (सोमबार) बिहान २२ वर्षीय कुमार विक र २१ वर्षीया सोनिका विकको शव फेला पारेको हो । यो सँगैं घुम्थाङ पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।
अझै १८ जना बेपत्ता रहेको र उनीहरुको खोजी कार्य भइराखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकास सापकोटाले जानकारी दिए । पहिरोले निकै तलसम्म बगाएका कारण शव भेट्न कठिन भएको उनले बताए ।
हिजो (आइतबार) गएको पहिरोले बाह्रबिसे नगरपालिका ७ को भीरखर्कका १० र नागपूजे गाउँका ७ घर बगाएको थियो । मध्यरातमा सुतेका बेला आएको पहिरोले घरभित्र रहेका अधिकांशलाई बगाएको थियो ।
आइतबार नै प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा पनि घटनास्थलको अवलोकन गर्न पुगेका थिए ।
