काठमाडौं-परदेशीको भावनालाई समेटेर लोकगायक विष्णु खत्रीका ‘रिनै रिनको’ बोलको गीत बजारमा आएको छ । गीतमा परदेशमा रहेको श्रीमान र गाउँघरमा बसेकी श्रीमतीको भावलाई समेटिएको छ ।
पुरुषः
आकाशबाट बाकसमा नआए
ढोका खोल भन्नेछु म आए
विदेशमा रहेका श्रीमानले परदेशीको अनिश्चित जीवनको भाषा बोलेका छन । यता गाउँमा रहेकी श्रीमतीले प्राकृतिक विपत्ति, सलह र महामारीको अवस्थाको बयान गीतमा गरेकी छिन ।
महिलाः
घरै धराप छ पहिरो खसेर
बाली खायो सलह पसेर
‘रिनै रिनको’ बोलमा ल्याइएको गीतमा प्रवासी नेपाली र तिनका आश्रित परिवारको दुःख, पीडालाई सरल भाषामा व्यक्त गर्न खोजिएको छ । आउनै लागेको दशैंतिहारमा घर आउने दिनको ठेगान नभएको अवस्था गीतमा बोलिएको छ । यता श्रीमान नहुँदाको गाउँघर शून्य भएको श्रीमतीको अवस्था गीतमा समेटिएको छ ।
पुरुषः
के दशैँ मान्छ्यौ र रिनै रिनको
मेरो केही भर छैन आउने दिनको
महिलाः
के दशैँ मानौ र रिनै रिनको
शून्य छ गामवेशी तिमी बिनाको
कोरोना महामारीका कारण कमाइ गुमेको, दशैँ खर्च पठाउन सक्ने अवस्था पनि नभएको अवस्थाको बयान पुरुष स्वरमा गरिएको छ । गाउँघरमा श्रीमतीलाई बालबच्चा र घर धान्न गाह्रो छ । परदेशी कहिले आउँछन् भनेर बाटो कुर्नुपर्ने अवस्थाको बयान गीतले गरेको छ ।
महिलाः
चर्न गाको गाई गोठमा फर्कन्छ
साँझपख झनै मन चर्कन्छ
पुरुषः
बाउ त बने बाउ जस्तो भैन म
हेर्नै छाडेँ आफ्नो मुख ऐनामा
गीतमार्फत परदेशीले आफैप्रति खिन्नता व्यक्त गरेको भाव समेत गीनमा समेटिएको छ ।
यसैसाता खत्रीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीत चार लाख १० हजारभन्दा बढीले हेरिसकेका छन । गीतमा खत्री र गायिका पूर्णकला बिसीको आवाज छ । गीतको संगीत र शब्द गायक खत्रीकै हुन् ।
सुमधुर क्रियशनद्वारा उत्पाद गरिएको गीतको भिडियोमा कलाकार ओवी रायमाझी र सारिका केसीले अभिनय गरेका छन । भिडियोको निर्देशन कपिल लामाले गरेका हुन ।