विराटनगर– कोरोना संक्रमणबाट मृत्यु भएका विराटनगर भन्सार कार्यालयका एक एजेन्टको ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका १० जनामा कोरोना पुष्टि भएको छ।
कोरोना भाइरस संक्रमण पुष्टि हुनेमा अधिकृत र नायब सुब्बा गरेर भन्सारका आठ कर्मचारी र अरु दुई जना एजेन्ट छन्।
भन्सारका एजेन्ट विराटनगर–१० घर भएका ५८ वर्षीय पुरुषको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साउन २४ गते मृत्यु भएको थियो।
मृत्युपछि उनको सम्पर्कमा रहेका कर्मचारी र एजेन्टहरूको पीसीआर परीक्षण गरिएको थियो।
संक्रमण पुष्टि भएकामध्ये सात जना कर्मचारी र दुवै भन्सार एजेन्ट उपचारपछि डिस्चार्ज भइसकेका छन्। मृतक एजेन्टबाटै उनको सम्पर्कमा रहेका कर्मचारी र अरु एजेन्टमा संक्रमण सरेको हुन सक्ने भन्सारले जनाएको छ।
यसैबीच कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि उनीहरुको उपचारका लागि विराटनगर महानगरपालिका–१७ रानीस्थित भन्सार कार्यालयको पुरानो भवनबाट ‘आइसोलेसन’ सञ्चालन गरिएको छ।
एकीकृत भन्सार जाँच चौकी (आईसीपी) विराटनगर–१८ खोक्साहामा सरेर नयाँ भवनदेखि सेवा दिन थालेपछि सबै मापदण्ड पूरा गरेर पुरानो भवनबाट ‘आइसोलेसन’ सञ्चालनमा ल्याइएको भन्सार प्रमुख शिवप्रसाद भण्डारीले जानकारी दिए।
भन्सारले आफ्नै ‘आइसोलेसन’ मा राखेर संक्रमित कर्मचारीको उपचार गर्ने गरेको छ।
भन्सार कार्यालयकी प्रवक्ता सुुनिता पौडेलका अनुसार सुरुमा भदौ १ गते एकै पटक चार जना कर्मचारीलाई कोरोना पुष्टि भएको थियो।
पौडेलले हालसम्म भन्सार प्रमुख भण्डारीसहित ३२ जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गरिसकिएकोमा २४ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन्।
भन्सार प्रमुख भण्डारीले कर्मचारीलाई संक्रमण देखिए पनि कार्यालयको काम कारबाही भने भइरहेको बताइन्।
