पोखरा– अघिल्ला वर्षहरुभन्दा यो वर्ष खेती–किसानीतर्फ धेरै मानिस आकर्षित भएको पाइएको छ । कारण हो– कोरोना महामारी ।
सहरमा कामकाज ठप्प भएपछि धेरै मानिस सहरबाट गाउँ फर्के र कृषि कर्ममा लागे। राज्यले पनि अब उत्तम विकल्प कृषि नै हो भनेर त्साहन गर्यो । धान खेती गर्ने समय भएकोले बाँझो जग्गामा समेत खेती भयो । उत्पादन राम्रै होला भन्ने आशामा खेती गरेका किसान समयमा मल नपाउँदा भने उत्पादन घट्ने चिन्तामा छन्।
धानले गाँज हाल्ने समय भइसक्दा समेत कृषकले युरिया मल पाएनन् । पोखरा–१७ पावरहाउसका किसान भक्तप्रसाद बराल मलका लागि भौंतारिएको निकै दिन भइसक्यो। ‘एकपल्ट ५ किलो मल पाएर हालेको थिएँ, त्यसपछि छैन । यतिबेलासम्म धान सप्रिसक्नु पर्ने हो, अझै मल खोज्दैछु,’ बरालले सुनाए।
मल हाल्न नपाएर धान पहेँलिदै गएकोमा उनी निकै चिन्तित छन् । बरालले २५ रोपनी जग्गामा धान खेती गर्दै आएका छन् ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा मल बिक्रीवितरण गर्ने साल्ट ट्रेडिङ कर्पोरेसनले लकडाउनको कारण देखाउँदै पर्याप्त मल ल्याउन नसकिएको बताएको छ । तर, मलको समस्या यो वर्षमात्र होइन । अघिल्ला वर्षहरुमा पनि किसानले यो समस्या झेल्दै आएका छन् । अघिल्ला वर्षको तुलनामा यो वर्ष झनै हाहाकार भएको किसानको गुनासो छ ।
अझै १६ हजार टन मल तेस्रो मुलुकबाट आउने क्रममा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन पोखरा शाखाका प्रमुख सुरेशराज भण्डारी बताउँछन् । यो वर्ष नेपाल भित्रिनै ढिलो भएकाले मल अभाव भएको उनको भनाइ छ ।
भण्डारीका अनुसार कास्की, तनहुँ, स्याङ्जा, लमजुङ, बागलुङ, पर्वतलगायत जिल्लाका डिलरलाई अनुदानको मल वितरण गरिन्छ। यो मल कृषि सहकारी हुँदै किसानसम्म पुग्छ।
कृषि कार्यालय गण्डकी प्रदेशका प्रमुख मुरलीमोहन रेग्मीका अनुसार अघिल्लो वर्ष करिब ११ सय टन मल बिक्री भएको थियो। यो वर्ष भने कार्यालयमा मल नै नआएको उनले बताए।
पोखरा महानगरमा यो वर्ष अघिल्ला वर्षहरुभन्दा १० प्रतिशत बढी क्षेत्रफलमा धानखेती गरिएको महानगर कृषि महाशाखाले जनाएको छ । अन्य समयमा महानगरभर ११ हजार २ सय हेक्टर जमिनमा धान खेती गरिन्थ्यो । तर यस वर्ष लकडाउनका कारण क्षेत्रफल बढेको छ।
महाशाखा प्रमुख मनोहर कडरिया भन्छन्, ‘महानगरमा धान लगाउने क्षेत्रफल बढेको छ। पानी पनि समयमै परेको हुनाले धेरै उत्पादन हुने आशा गरेका थियौँ, तर युरिया मलको अभाव हुँदा धान उत्पादनमा कमी आउने देखियो ।’
पोखरा–५ मालेपाटनमा मल बिक्रीवितरण गर्ने झौरी खेत कृषि सहकारी संस्थाले अघिल्लो वर्षको तुलनामा मल आयात कम भएकाले यस वर्ष किसानलाई पर्याप्त मात्रामा मल दिन नसकिएको बताएको छ। दोस्रो चरणमा आएको ५० बोरा युरिया मल ४ घण्टामै सकिएको सहकारीका व्यवस्थापक सुजिन नेपालीले सुनाए। ‘किसानहरु सोध्न आएको आयै छन् तर के गर्नु हामीसँग नै छैन,’ उनले भने।
