भैरहवा– कोरोना महामारीको संकटपछि पनि मुलुकको समृद्धिको मूल आधार पर्यटन नै भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन्।
कोरोना महामारीले पर्यटन क्षेत्रको पूर्वाधार विकासमा पारेको असर र कार्यप्रगतिको स्थलगत निरीक्षणका क्रममा पश्चिम नेपालको भ्रमणमा रहेका मन्त्री भट्टराईले भने, ‘नेपालको समृद्धिको मुख्य आधार नै पर्यटन हो ।’ उनले विगतमा पनि वर्तमानमा पनि र भविष्यमा पनि पर्यटन क्षेत्रको विकास जरुरी रहेको बताए ।
कोरोना महामारीले पर्यटन क्षेत्रमा ठूलो असर पारेको उल्लेख गर्दै नेपाल सरकारले आवश्यक योजनासहित कोरोना संकट टरेपछिको योजना बनाइरहेको पनि संकेत गरे ।
लुम्बिनीका मन्दिर, विहार तथा गुरुयोजना अनुसारको निर्माणको कामको निरीक्षणपछि उनले भने, ‘समृद्धिको मुख्य आधारको रुपमा पर्यटन क्षेत्रलाई नै अगाडि सार्नुको विकल्प छैन । विभिन्न पर्यटकीय गन्तव्यमध्ये लुम्बिनी नेपालको पर्यटन विकासको मुख्य आधारशीला हो।’
लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका भट्टराईले पवित्र उद्यान लुम्बिनीभित्र रहेका सामरिक महत्वका विभिन्न क्षेत्रको अवलोकन गर्दै लुम्बिनीको विकासमा नेपाल सरकारले कुनै पनि कमी नराख्ने पनि बताए ।
लुम्बिनीस्थित मायादेवी मन्दिर, अशोक स्तम्भ, पुस्करणी पोखरी, शान्तिदीप, केन्द्रीय नहरको अवलोकन गरेपछि म्यानमार बिहार, कोरियन बिहार, थाइ बिहार, चिनियाँ बिहार, जर्मन बिहारको समेत निरिक्षण गरेका भट्टराईले विश्वका बौद्ध देशहरुसँगको सहकार्यमा लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलाई अझै प्रभावकारी बनाइने पनि बताए ।
सो अवसरमा मन्त्री भट्टराईले निर्माणाधीन गौतमबुद्ध फलफूल बाटिकाको अवलोकन तथा निरीक्षण, निर्माणाधीन अन्तर्राष्ट्रिय बुद्धिस्ट सम्मेलन तथा ध्यान केन्द्रको निरीक्षण समेत गरेको लुम्बिनी विकास कोषका कामु सदस्य सचिव ज्ञानिन राईले बताए ।
निर्माणाधीन ध्यान केन्द्र सम्पन्न भएपछि ५ हजार जना मान्छे अट्ने क्षमता रहनेछ । उक्त केन्द्रको पहिलो चरणको ३२ करोड बराबरको बजेट रहेको काम ९० प्रतिशत सकिएको र दोस्रो चरणको निर्माणको लागि बोलपत्र आह्वान भइसकेको छ।
यसैगरी गौतमबुद्ध फलफूल बाटिकामा २५ हजार फलफूलका बिरुवा रोप्नेगरी तयारी भएको छ । रुपन्देहीमा मन्त्री भट्टराईले राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समेत निरीक्षण गरेका थिए ।
