काठमाडौं– सिन्धुपाल्चोकको बाह्रबिसेमा मध्यरातमा आएको पहिरोले १८ घर बगाउँदा दर्जनौ ब्यक्ति बेपत्ता भएका छन् ।
बाह्रबिसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा खसेको पहिरोले कम्तीमा ८ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको प्रहरीले जनाएको छ।
पहिरो परि बेपत्ता भएकामध्ये ३ जनाको शव भेटिएको नगर उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिइन् । उनका अनुसार नागपुजेमा कम्तिमा १५ जना बेपत्ता भएका छन् । भीरखर्कमा कति बेपत्ता भए भन्ने अझै खुल्न सकेको छैन् ।
भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयको भनाइ छ। प्रहरीले उद्धार र बेपत्ताको खोजीलाई तिब्रता दिएको जनाएको छ ।
पहिरोमा परेर ठूलो मानविय क्षति भएको स्थानीयको भनाइ छ। उनीहरुका अनुसार मध्यरातमा सबै सुतेका बेला माथिबाट आएको पहिरोले घर बगाएको थियो।
यसअघि साउन ३० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको पहिरोले १३ घर बगाउँदा २० जनाभन्दा बढिको मृत्यु भएको थियो।
