काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा २ सय ४३ नेपालीले ज्यान गुमाएका छन् ।
बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुले कोरोनाबाट ज्यान गुमाएका हुन् ।
पछिल्लो एक सातमा मात्रै ४३ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । सादीअरब, कतार, भारत, स्पेन, पोल्यान्डलगायतका देशमा कोरोना संक्रमित नेपालीको संख्या बढेको स्वास्थ्य समितिका संयोजक डा सञ्जिव सापकोटाले जानकारी दिए ।
गएको मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको नेपालीको कोरोनाको कारण ज्यान गएको साउदीमा रहेको नेपाली दूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ ।
समितिका अनुसार अहिलेसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्।
