विराटनगर- नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बुधबार बिहान साढे ८ देखि विराटनगर वडा नम्बर ६ को मतदानको कार्यतालिका थियो। मतदानका लागि क्रियाशील सदस्य मतदानस्थल शिक्षा सदन माविमा निर्धारित समयअघि नै पुगिसकेका थिए। तर, मतदान अधिकृत डिल्ली दाहाल दिउँसो साढे २ बजे मात्रै मतदानस्थल पुगे।
मतदान अधिकृत मतदानस्थलमा पुगेको आधा घण्टापछि मतदान सुरु भयो। ४३५ जना क्रियाशील सदस्य रहेको विराटनगर-६ मा करिब २० जना क्रियाशील सदस्यले मतदान गरेपछि एकाएक मतदानस्थलमा होहल्ला सुरु भयो। मत दिन पुगेका क्रियाशील सदस्यले उम्मेदवारको नाम नै मतपत्रमा नभेटपछि होहल्ला गरेका थिए।
विराटनगर-६ का पवन राजवंशीलाई क्षेत्रीय प्रतिनिधिमा मत हाल्नका लागि मतपत्रमा नाम खोज्दा नभेटिएपछि उनीसहित उनका समर्थकले मतदानस्थलमा होहल्ला र नाराबाजी गरे। राजवंशी पक्षले विराटनगर-६ को मतदान अधिकृत फेर्नुपर्ने माग गरेका छन्। नियोजित रुपमा उम्मेदवारको नाम छुटाएर मतपत्र छाप्ने काम भएको एक क्रियाशील सदस्यको आरोप छ।
मतपत्रमा लापरबाही
विराटनगर-६ मा वडाका पदाधिकारी र क्षेत्रीय प्रतिनिधिसहितका उम्मेदवारलाई मतदानका लागि १५ पेजको मतपत्र वितरण गरिएको थियो। मतपत्रमा कुनै उम्मेदवारको नाम २ ठाउँमा रहेको थियो भने कुनै उम्मेदवारको नाम नै नभएपछि मतदान अधिकृत दाहाललाई मतदाताहरुले झपारेका थिए। उनलाई आक्रोशित भीडले आक्रमणको प्रयास समेत गरेको थियो। तर, दाहालले उम्मेदवार नै नभएका व्यक्तिहरुले होहल्ला गरेपछि मतदान स्थगित गर्नुपरेको दाबी गरेका छन्।
'स्थगित मतदान बिहीबार बिहान ११ बजेदेखि हुनेछ,’ छोटो कुराकानीमा उनले भने । विराटनगर-११ मा वडा सभापतिका उम्मेदवार शिक्षक भएपछि निर्वाचित कार्यक्रम स्थगित भएको छ।
कतै निर्विरोध, कतै मतदान
मोरङका १५९ वडामध्ये कतिपय स्थानमा वडा सभापतिसहित पदाधिकारी, वडा कार्यसमितिका सदस्य, पालिका प्रतिनिधि र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका छन्।
मोरङको धनपालथान गाउँपालिकामा ७ वटै वडामा वडा सभापतिदेखि क्षेत्रीय प्रतिनिधि सहितका प्रतिनिधिहरु सर्वसम्मत चयन भएको नेपाली काँग्रेस मोरङका पूर्व उपसभापति हरिलाल सिंहले बताए।
रंगेली नगरपालिकाका केही वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। वडा नम्वर १, ३, ४, ७, ८ मा वडाका पदाधिकारीसहित क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मत चयन भएको नेपाली काँग्रेस मोरङका सचिव मोदराज घिमिरेले बताए।
सुनवर्षी नगरपालिका १, ४, ६, ८, ९ वडा सर्वसम्मत चयन भएका छन्। कानेपोखरीको १, ३ र ७ मा सर्वसम्मत चयन भएको कानेपोखरी कांग्रेसका सचिव विवेक लिम्बूले बताए।
पथरी शनिश्चरे नगरपलिकाका ६ र ४ मा पनि सभापति सर्वसम्मत चयन भए। विराटनगर महानगरपालिकाको वडा नं ७ , ९, १० र १६ मा सर्वसम्मत वडाध्यक्ष चयन भएका छन्। बुढीगंगा गाउँपालिकाको १, २, ३, बेलबारी नगरपालिकाको वडा नं २, ३ र ९ मा सर्वसम्मत चयन भएको कांग्रेस मोरङ सचिव घिमिरेले बताए।
मंगलबार सर्वसम्मत नेतृत्व चयन हुन नसकेको वडाहरुमा बुधबार निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन हुँदैछ।