जनकपुरधाम- प्रदेश २ मा पछिल्लो २४ घण्टामा १३२ कोरोना संक्रमित थपिएका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि हुनेमा २६ महिला र १०६ पुरुष रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए। योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ११ हजार ८४५ पुगेको छ।
शनिबार सर्लाहीमा सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। सर्लाहीमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै सप्तरीमा १६, बारामा १४, पर्सामा ९, महोत्तरीमा ७, सिरहामा ५ र धनुषामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै शनिबार प्रदेश २ मा ४२ जना कोरोना संक्रमित निको भएर आफ्नो घर फर्केका छन्।
७ महिला र ३५ पुरुष कोरोना मुक्त भएर आफ्नो घर फर्केको वरिष्ठ प्रशासक झाले बताए। प्रदेश २ मा कोरोनाबाट निको हुनेको संख्या ६ हजार ३ सय ११ पुगेको छ। ७१२ महिला र ५ हजार ५९९ पुरुष अहिलेसम्म कोरोनामुक्त भएका छन्।
