ललितपुर- कोरोना भाइरसको महामारीका कारण भोकै हुनुपर्ने अवस्थामा रहेकालाई साझा पार्टीका नेता उज्ज्वल कृष्ण श्रेष्ठको संयोजनमा उपत्यकाका विभिन्न ठाउँमा खानाको व्यवस्था गरिएको छ।
साझा पार्टीका ललितपुर जिल्ला संयोजक श्रेष्ठको संयोजनमा लगनखेल र इमाडोलमा दैनिक साढे दुई सयभन्दा बढी भोका व्यक्तिहरुलाई खानाको प्रबन्ध गरिएको छ। साझा पार्टीका नेता श्रेष्ठको अभियानमा विवेकशील पार्टीसमेत जोडिएको छ। साथै यो अभियानमा साहाकारी पार्टी पनि सहभागी भएको श्रेष्ठले बताए।
समाज सेवाको काम भएकाले अन्य राजनीतिक दलहरुसँग पनि मिलेर काम गर्दा सजिलो हुने भएकाले यसरी काम गरिएको श्रेष्ठले जानकारी दिए।
सुरुमा व्यक्तिगत रुपमै लागेका श्रेष्ठलाई अहिले राजनीतिक दलहरुका साथै अन्य समाजसेवीहरुको पनि सहयोग जुटिरहेको छैन।
दैनिक रुपमा कसैले चामल, दाल तथा पैसा सहयोग गरिरहेकाले यो अभियान संचालनमा सजिलो भएको श्रेष्ठ बताउँछन्। यसरी संकलन भएको खाद्यान्न सुरक्षित रुपमा राखेर पकाउने र लगनखेलमा झण्डै १३० जना तथा इमाडोलमा पनि त्यति नै व्यक्तिलाई वितरण गरिराखिएको उनले जानकारी दिए।
४ दिनदेखि सुरु भएको यो अभियान कति दिनसम्म चलाउने भन्नेबारे भने कुनै टुंगो छैन। अहिले सहयोग पनि जुटिरहेकाले अन्य एक दुई ठाउँमा पनि सेवा विस्तार गरेर भोका व्यक्तिलाई खाना खुवाउने तयारी भइरहेको उनले बताए।
तस्बिरहरु दिनेश श्रेष्ठ








