शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सत्याग्रही गंगामायाको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन अपिल

सत्याग्रही गंगामायाको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन अपिल

सत्याग्रही गंगामाया अधिकारीलाई कोरोना संक्रमणको जोखिम रहेकाले उनको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानवअधिकारकर्मीहरुले सरकारसँग अपिल गरेका छन्।
 |  शनिबार, भदौ २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०७७

काठमाडौं- नागरिक अगुवाहरूले सत्याग्रही गंगामाया अधिकारीकाे स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारसँग अपिल गरेका छन्।

गंगामायालाई कोरोना संक्रमणको जोखिम रहेकाे भन्दै उनकाे स्वास्थ्य अवस्थाबारे गम्भीर हुन नागरिक समाजका ३० जना अगुवाले अपिल गरेका हुन्। 

वीर अस्पतालको मुख्य भवनलाई कोभिड अस्पतालमा परिणत गरिएको छ। सत्याग्रही अधिकारी सोही अस्पतालमा छिन्।

अधिकारीलाई संक्रमण हुन सक्ने प्रबल सम्भावना भएको क्षेत्रभित्र राखिएकाले उनको स्वास्थ्य उच्च जोखिममा पर्दै गएको भन्दै उनीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्न अपिल गरेका हुन्।

निर्दोष नाबालक छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई न्यायको कठघरामा ल्याई दण्डित गरिनुपर्ने भन्ने माग राखी गंगामाया र उनका पति नन्दप्रसाद अधिकारीले २०६८ माघ २२ गतेदेखि आमरण अनशनसहितको सत्याग्रह सुरु गरेका थिए।

हत्यामा संलग्न व्यक्तिहरुलाई उन्मुक्ति दिइनु हुँदैन भन्ने उनीहरुको माग थियो। अनशनको ३३४ औं दिनमा नन्दप्रसादको २०७१ असोज ६ गते निधन भएको थियो।

सोही आमरण अनशनको ३५९ औं दिनमा सरकारबाट गंगामाया अधिकारीको न्यायको माग पूरा गराउन सहजीकरण गर्ने, जीवनभर स्वास्थ्य उपचार तथा सुरक्षाको प्रत्याभूति गर्ने प्रतिबद्धता जारी भएको हुँदा आमरण अनशन स्थगत भएको थियो।

यद्यपि सरकारले सत्याग्रहका माग पूरा नगरेको हुँदा गंगामाया अधिकारी वीर अस्पतालमै पटकपटक आमरण अनशन बस्दै आएकी छन्।

अपिलमा भनिएको छ, 'उहाँलाई कोभिड–१९ को संक्रमण भई उहाँको जीवन जोखिममा पर्न सक्ने उच्च सम्भावना भएको हुँदा उहाँको जीवनरक्षाका लागि तत्काल स्वास्थ्यसम्बन्धी सुविधा सम्पन्न अन्य स्थानमा स्थानान्तरण गर्न हामी नेपाल सरकार र वीर अस्पताल व्यवस्थापनलाई हार्दिक अपिल गर्दछौं।'

कोभिड–१९ सँग सम्बन्धित कारणलाई देखाई राज्यबाट चालिएको कदमबाट गंगामायाको संविधान प्रदत्त बाँच्न पाउने हक, स्वास्थ्य सम्बन्धी हक, मानवीय मर्यादाको हक र न्याय पाउने हक प्रचलनमा अवरोध आउन नहुनेमा अपिलमा सचेत गराइएकोछ।

अपिलमा भनिएको छ,  'सत्याग्रही गंगामायाको अनवरत संघर्ष तथा उहाँको जीवन रक्षासम्बन्धी विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार समुदायको वैधानिक सरोकारको विषयसमेत भएको हुँदा सो सम्बन्धमा संवेदनशील भई अविलम्ब आवश्यक कदम चाल्न गम्भीर रुपमा ध्यानाकर्षणसमेत गराउन चाहन्छौं।'

यसरी अपिल गर्ने नागरिक अगुवाहरुमा केदारनाथ उपाध्याय, कल्याण श्रेष्ठ, सुशीला कार्की, दमननाथ ढुगांना, केदारभक्त माथेमा, शम्भु थापा, डा. वीरेन्द्र मिश्र, डा. गौरी शंकरलाल दास छन्।

यस्तै अपिलकर्तामा चरण प्रसाई, प्रा. कपिल श्रेष्ठ, चाँदनी जोशी, डा. बिपिन अधिकारी, भक्त विश्वकर्मा, लिली थापा र सावित्री श्रेष्ठ छन्।

अन्य अपिलकर्तामा इन्द्र अर्याल, दिनेश त्रिपाठी, ओम प्रकाश अर्याल, देवी सुनुवार, महामुनिश्वर आचार्य, बाबुराम गिरि, आशिकराम कार्की, गणेश मण्डल, बद्रीप्रसाद भुसाल, सुमन अधिकारी, राजुप्रसाद चापागाईं, राजन कुइकेल, अनिता थपलिया, ओम प्रकाश सेन ठकुरी र विकास बस्नेत छन्।

प्रकाशित: Sep 12, 2020| 14:05 शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।