शुक्रबार, भदौ १२, २०८३

अन्तिम घडी

काठमाडौं आउँदा आशाहरूले त्रिशूलीमा हामफालेका थिए– ‘जीवन सधैंभरिका लागि होइन।’ चेतना मात्रै हुने हरेकले जानेको कुरा हो यो। तर स्विकार्न कहाँ गर्न सकिन्छ र?
 |  शनिबार, भदौ २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०७७

- वसन्त आचार्य

अन्ततः १८ औं दिनपछि डाक्टरले चिकित्साविज्ञानले अब केही गर्न नसक्ने निरीहता प्रकट गरे। सम्भवतः ३३ वर्षे जीवनकै सबैभन्दा ‘ब्याड न्युज’ थियो मेरा लागि।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालको १०९ नम्बरको बेडबाट अग्ला भवन हल्लिरहेका देखिन्थे। बाटो पनि हिँडिरहेको थियो। आकाशमा कावा खाने चरा रोकिएका थिए। मबाट ‘म’ हराएको थियो।

काठमाडौं आउँदा आशाहरूले त्रिशूलीमा हामफालेका थिए– ‘जीवन सधैंभरिका लागि होइन।’ चेतना मात्रै हुने हरेकले जानेको कुरा हो यो। तर स्विकार्न कहाँ गर्न सकिन्छ र?

उसै त अमिलो मन, तारन्तार आउने फोनले झनै गिजोल्थे। अस्पताल बसाइको अध्याय सकेर दाङतिर झर्नुपर्ने थियो। हजुरआमाको अनुहार हेर्छु– बाँच्ने लालसा दौडिरहेका छन्। रिपोर्ट कार्ड हेर्छु– जीवनको घडीमा ब्याट्री सकिन–सकिन आँटेको छ। ठोकठाक पारेर केही क्षण ब्याट्री चलाएजस्तो न हो जीवन। सधैंभरका लागि कहाँ चलाउन सकिन्छ र?

लामो समय अस्पताल बसाइपछि घर जाने खबरले हजुरआमा निकै उत्साहित हुनुहुन्छ। निको भयो भन्ने भ्रमले उहाँको जीवनका कति धेरै खुसी दिएको छ। भ्रमहरू वास्तवमै कहिलेकाहीं औषधिजस्तै हुन्छन्।

‘मन्दिरमा कसरी पूजा गरे होलान्? भोलिदेखि त बिहानै घर पूजा गर्न जाने हो’, पूजारी हजुरआमालाई मन्दिरकै सुर्ता छ। अस्पतालबाट हिँड्ने भनेपछि उहाँमा एकाएक उत्साह पलाएको थियो। दिसापिसाबका लागि पनि अरूको सहारा चाहिने उहाँ दौड प्रतियोगितामा सामेल हुन लागेको खेलाडीजस्तो देखिनुभएको थियो। जीवनमा जतिसुकै रोगले गाल्दै लगे पनि आशा र उत्साहसामु सबै फिक्का लाग्दो रहेछ। चिकित्सालाई चुनौती दिँदै उत्साहले रोग जितेर हजुरआमा खुसी–खुसी घर जान तयार हुनुभयो।

‘एम्बुलेन्समै लैजाने तयारी गरौं न’, मैले भाइलाई भनें। हजुरआमाले बेडैबाट नराम्रोसँग झपार्नुभयो, ‘म अस्पताल जान लागेको हुँ र एम्बुलेन्स खोज्न लागेको?’ उहाँको स्वर झनै चर्को भयो, ‘हैन तिमीहरूका पैसा फल्छन् क्या हो? गाडीमा गए पनि उही त हो नि किन धेरै पैसा खर्च गर्ने?’

उहाँको ढिपीलाई मैले नकार्न सकिनँ। ‘केही दिनको पाहुना भएकाले भनेको सबै मान्नुहोला’, डाक्टरले भनेको कुरा कानमा प्रतिध्वनित भइरहेको थियो।

कलंकीबाट चल्न थालेको थियो बस। हजुरआमालाई थानकोटका रूखहरूले केही थान अक्सिजन पठाएर आत्मीयता बाँडेका थिए। चन्द्रागिरीबाट आएको बतास रोकेर रूखहरूले बिदाइका हात हल्लाएका थिए।

सायद अब कहिल्यै उहाँले यो थानकोट टेक्नु हुने छैन। अनि कहिल्यै यी बतासले आत्मीयता दिन सक्ने छैनन्। ‘अर्को पालि आउँदा चन्द्रागिरी जाने है?’, हजुरआमालाई अर्कैतिर फर्किएर जवाफ दिएँ, ‘हुन्छ।’ झटपट आँसु नदेखिने गरी पुछें।

हजुरआमासँग जीवनका अनेक कुरा गर्न मन छ। उहाँले बाँचेको जीवनमा अणु अनि परमाणुमा टुक्र्याएर जान्न मन छ। जीवनको अन्तिम किनारामा हिँडेकी उहाँका जीवनका सबै भोगाइ खिच्न मन छ।

बाहुनको घरमा जन्मिएकी हजुरआमा जातीय रूपमा अलिक कडा हुनुहुन्थ्यो। त्यो उहाँले बाँचेको समाज र समयले सिकाएको कुरा हो। उहाँले कहिल्यै घरबाहिर पानी पिउनु भएन।

पछिल्लोपटक अस्पताल भर्ना भएपछि बाध्य भएर होटेलको खाना खान थाल्नुभएको थियो हजुरआमाले। अस्पतालको बेडमा उहाँले कसरी पो पकाउन सक्नु र? होटेलमा माछासँग मिठो मानेर खानुभयो भात। ‘होटलमा खाए के के न हुन्छ भन्ने केही भएन त’, उहाँ जीवनभर भ्रम बोकेर बाँचेको प्रति पश्चात्ताप गर्नुहुन्थ्यो।

घर फर्किएको पहिलो दिनमै उहाँ बिहानै नुहाएर मन्दिर जानुभयो। मैले अनेक करकाप गरें। रातभर धेरै कुरा सुनाएँ। उहाँ बिहानै उठेर मन्दिर जानुभए। म बेडमै छँदा टीका बोकेर आउनुभयो। काठमाडांैमा दाङ झर्दै गर्दा उहाँले धोती किन्नुभएको थियो। त्यही धोतीमा साँच्चिकै निको भएजस्तो देखिनुहुन्थ्यो उहाँ।

‘तेरा बाजे हुँदासम्म जहिल्यै गाली गरे मलाई’, उहाँले दुःखेसो पोख्नुहुन्थ्यो। बाजेले संसार छाडेको धेरै वर्ष हुँदा पनि उहाँ अनेक बहानामा मलाई सम्झाइरहनुहुन्थ्यो। ‘तेरा बाजेभन्दा पहिला मर्न पाएको भए बल्ल बूढाले दुःख पाउँथे भन्ने सोचेको बूढाले एक्लै पारेर गए’ हजुरआमाका आँखा एक्कैछिनमा रसाँउथे।

‘हेर तिम्रा बाजे कति खुसी छन्’ भित्तामा टाँसेको हजुरबाको धमिलो–धमिलो फोटो देखाएपछि उहाँ खूब रमाउनुहुन्थ्यो। हजुरबालाई मैले जहिल्यै उहाँभन्दा बढी माया गरें। त्यही भएर होला उहाँ हरक्षण मसँग हजुरबाप्रतिको गुनासो गरिरहनुहुन्थ्यो। गाली पनि त बाजेलाई सम्झने बहाना थियो उहाँका लागि।

मान्छे मर्नु भनेको कालापहाड जानु होइन, बजार जानु होइन। आफन्तकहाँ पाहुना लाग्न पनि जानु होइन। कहिल्यै नआउने गरी, कहिल्यै नभेटिने गरी ग्वारखोलामा बगेका पानीजस्तै बगेर जानु हो। ओहो मैले हजुरआमालाई सधैंका लागि पो गुमाउँदै छु। मन बेचैन हुन्थ्यो। जीवनको अन्तिम समय हजुरआमाका लागि काट्नु थियो मैले।

घर आएको पाँच दिनसम्म हजुरआमाको उत्साहले निकै काम ग¥यो। छैटौं दिन उहाँको पेटमा फेरि समस्या आयो। मन्दिरमा पूजा गर्दागर्दै छटपटाउन थाल्नुभयो।

उहाँलाई हतारहतार अस्पताल लग्यौं। दुखाइ कम गर्ने सुई लगाएपछि दुरुस्तै हुनुभयो। डाक्टरले भनेअनुसार उहाँका दिन एक साता पनि थिएनन्। साह्रै माया गर्ने हजुरआमाले एक सातामै संसार छाडेर जाँदै हुनुहुन्छ भन्ने सोच्न मन मान्दैनथ्यो।

विज्ञान र चिकित्साले मनको कुरा कहाँ बुझ्न सक्छ र? ‘म त बाँच्छु नि है बाबु?’ धेरै पछि उहाँले मन कमजोर बनाउनुभयो। अस्पतालबाट फर्केको दुई दिनपछि हजुरआमाले केही कठिन महसुस गर्नुभयो।

‘डाक्टर बोला न बाबु’, हजुरआमाले जतिसुकै चीत्कार गरे पनि घरमै को डाक्टर आउन मान्थ्यो र? अस्पताल लैजाऊँ रिपोर्ट हेरेर डाक्टरहरू घरमै लैजान सल्लाह दिन्थे। एकातिर पीडाको ठूलो भारीले च्यापेको थियो। अर्कोतिर के गरूँ के गरूँ भएको थियो। जस्तोसुकै पीडा भए पनि एकअर्काले लिने–दिने भनेको सहानुभूति मात्रै हो।

तैपनि अस्पतालमा डाक्टरलाई भनेर भर्ना गरें। अस्पतालमा उनको पलप्रतिपल एउटै प्रश्न हुन्थ्यो, ‘मलाई निको हुन्छ नि डाक्टर साप?’ सबैसँग एउटै बनावटी जवाफ हुन्थ्यो, ‘किन नहुनु? हुन्छ।’ केही दिन अस्पताल बसेर दुखाइ कम हुने औषधि खुवाएपछि उहाँको पीडा केही शान्त भयो।

धेरै मान्छेको खुसी चोरेर लैजाने क्यान्सरले मेरो पनि खुसी त्यसैगरी लैजान थालेको थियो। तर पनि म बाध्य थिएँ। हजुरआमालाई लामो समय बाँच्नुहुन्छ भन्ने भ्रम छर्नु थियो। औषधि लगाएको केही घण्टा निकै खुसी र उत्साहित हुनुहुन्थ्यो। अनि उस्तै दुख्न थाल्थ्यो। मर्न भनेपछि डराउने उहाँ कहिलेकाहीं मर्न पाए पनि हुन्थ्यो भन्नुहुन्थ्यो।

‘बाबु मलाई बचाऊ न’, हजुरआमा पीडाले साह्रै सताएपछि भनिरहनुहुन्थ्यो। उहाँलाई निको हुन्न भन्ने थाहा हुँदाहुँदै पनि सान्त्वनाको उपचार गर्न हामी बाध्य थियौं। डाक्टरसँग कुरा मिलाएर उहाँको उत्साहलाई हामीले कहिल्यै मर्न दिँदैनथ्यो। ‘डाक्टरबाबु हेर्नुस् त यो हात कस्तो थाहै पाउँदैन, राम्रोसँग उपचार गर्नु है। मेरो नातिले जति पनि पैसा खर्च गरेर मलाई बचाउँछ।’ उहाँको जीवनप्रतिको प्रेमले मन विह्वल बनाउँथ्यो। पैसाले जिन्दगी कहाँ पाउन सकिन्थ्यो र?

अस्पताल र घर पँधेरोजस्तो थियो। हजुरआमाले मन सानो पार्नेबित्तिकै शान्त बनाउन हामी अस्पताल लैजाने गथ्र्यौं। केही ढाडस हुन्थ्यो अनि फर्कन्थ्यौं।

‘बाबु मलाई निकै हुँदैन जस्तो छ, काठमाडौं लैजा है’, हजुरआमाले बाकसबाट निकालेर १० हजार हातमा थमाइदिनुभयो। केही दिनदेखि उहाँले काठमाडौं लैजान धेरै अनुरोध गरे पनि मैले नसुनेझैं गरेको थिएँ। तर पैसा नै हातमा राखिदिएपछि कसरी नकार्नु?

जेनतेन मन बुझाएर नेपालगन्ज लगें। मलाई थाहा थियो, उहाँका लागि उपचार गर्नु भनेको बाँच्ने भ्रमको आयातन बढाउनु मात्रै हो। भ्रमै सही, उहाँ मर्ने बेलामा भए पनि केही खुसी त हुनुहुनेछ।

नेपालगन्जबाट फर्केको केही समय उहाँका लागि उत्साहप्रद रहे। सात दिनपछि फेरि ओछ्यान पर्नुभयो। ‘बाबु अब वाँच्दिनँ क्या हो? बचा न मलाई’, उहाँ निन्याउरो अनुहार लगाएर अनुरोध गर्नुहुन्थ्यो। बच्चाले आमासँग खेल्न जान आमासँग अनुरोध गर्दा बनाएको जस्तो टीठलाग्दो हुन्थ्यो उहाँको अनुहार।

‘यति धेरै मान्छेले चिन्ने भएर पनि मलाई बचाउँदैनस् त?’ सानोमा मैले उहाँसँग पैसा माग्दा गरेजस्तै अनुनयविनय गर्नुहुन्थ्यो। दिसापिसाब गर्न पनि अरूको सहारा लिनुपर्ने भएको थियो उहाँलाई।

‘हात हेर्नेले ६७ मा गौंडो छ भनेको थियो। यो कट्यो भने त मरिँदैन होला?’ हरेक पटक भनिरहनुहुन्थ्यो। मलाई थाहा थियो गौंडो काट्न सक्नु हुन्न भन्ने। तर पनि मन राख्नु मेरो बाध्यता थियो।

जीवनको अन्तिम–अन्तिम गौंडोमा हुनुहुन्थ्यो, हजुरआमा। मुखले केही भन्न सक्नु हुन्नथ्यो। रोगले उनको आवाज पनि खोसिसकेको थियो। आँखाले बोल्नुहुन्थ्यो, ‘बाबु मलाई बचा न, संसार अझै हेर्ने धोको छ।’ मान्छेलाई जीवन सकिँदै छ भन्ने बोध भए पनि कस्तो महसुस हुन्छ होला? म कल्पना मात्रै गर्न सक्थें। मेरी हजुरआमाले त्यसलाई भोग्नुभएको थियो।

बिहान तीन बजे अचानक हजुरआमाले चीत्कार छाड्नुभयो। भर्खर–भर्खर भेटिएको निँद दौडिएर भाग्यो। उहाँको मुख प्याकप्याक भएको थियो। पानी हालिदिएँ। मेरो काँधमा बेस्सरी समाउनुभयो। सायद बोल्न सक्ने भए भन्नुहुन्थ्यो होला, ‘तँ सानो हुँदा कस्तो कस्तो कुराबाट बचाएँ र यस्तो बनाएँ। मलाई यत्ति सानो रोगबाट बचाउन सकिनस् है।’ आँखामा आँसु भेलजसरी बगेका थिए। हेर्दाहेर्दैै हजुरआमाले संसार छाड्नुभयो।

प्रकाशित: Sep 12, 2020| 07:52 शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।