शुक्रबार, भदौ १२, २०८३

अब ‘मोफसल पीडा’ कम भइसकेको छ : राधा कोइराला

वर्तमान समय सूचना र सञ्चारको हो। साहित्य पनि प्रविधिमैत्री भइसकेको छ। त्यसकारण प्रतिभासम्पन्न स्तरीय सर्जकहरूले ख्याति पनि प्राप्त गरिरहनुभएको छ। पहिलेको जस्तो ‘मोफसल पीडा’ अहिले छ जस्तो लाग्दैन ।
 |  शनिबार, भदौ २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०७७

राधा कोइराला प्राध्यापन गर्छिन्। साहित्यिक परिवारमा हुर्किएकी कोइरालामा कविता लेखनको रुचि २०५० को वरपर जागेको हो। विभिन्न पत्रपत्रिकामा उनका फुटकर कविता, गजल र कथा प्रकाशित छन्। गद्य र पद्य दुवै ढाँचामा कविता लेख्ने कोइरालाको ‘जीवनको पाठशाला’ कविता संग्रह हालै प्रकाशित भएको छ। चितवन साहित्य परिषद्ले प्रकाशन गरेको उक्त काव्य कृतिबारे कोइरालासँग गरिएको छोटो कुराकानी–

कविता धेरैले लेख्छन् तर कमैले पढ्छन्। किन होला?

साहित्यका विविध विधामध्ये कविता धेरै लेखिने र कम पढिने विधा हो। अनुभूतिलाई प्रभावकारी, सूत्रात्मक, सांकेतिक र व्यञ्जनात्मक संक्षिप्त रूपमा प्रस्तुत गर्न सकिने हुँदा कविता धेरैले लेख्छन्। कविताको भाषा बिम्बात्मक, प्रतीकात्मक र आलंकारिक हुन्छ र कविताको सौन्दर्य पनि यही हो। भाव वा विचारलाई सोझै अभिव्यक्त गर्दा कविता बन्न सक्दैन।

काव्यात्मक भाषा आमपाठकको बोधको स्तरभन्दा पर पुग्छ। यही कारणले होला कविताभन्दा आख्यान, निबन्ध लगायतका विधाप्रति पाठक आकर्षित हुन्छन्। २० को दशकमा आएका प्रयोगवादी कविता ज्यादै दुर्बाेध्य थिए जसका कारण पाठक र लेखकका बिचमा दूरी थियोे। अचेल राम्रा कवितालाई पाठकले मन पराइरहेका छन्।

तपाईंलाई कविता लेखनमा के ले तान्यो?

म साहित्यिक परिवारमा जन्में, हुर्कें। बाल्यकालदेखि नै साहित्यिक पुस्तक पढ्न पाएँ। पिताजी तीर्थराज कोइराला कवि हुनुहुन्थ्यो। लेखनाथ, माधव घिमिरे, देवकोटा आदिका कविका कविता बाल्यकालदेखि नै कण्ठस्थ थिए। भूपीका गद्य कविता सारै मन पथ्र्यो। साहित्यको विद्यार्थी भएकाले पनि यसमा विशेष रुचि जाग्ने नै भयो। अनि कुनै विषयले छुँदा कविता कोर्न थालें। यो क्रम बिस्तारै बढ्न थाल्यो।

शिक्षण पेसा र घरायसी काममा व्यस्त हुनुपर्दा साहित्य सिर्जनामा अवरोध आउँछ वा जीवन भोगाइका विविध सन्दर्भले सिर्जनामा थप ऊर्जा प्राप्त हुन्छ?

फुर्सद हुँदैमा फटाफट साहित्य सिर्जना हुन्छ वा गरिन्छ भन्ने हुँदैन। जीवन निर्वाहका क्रममा हामी कुनै न कुनै पेसामा आबद्ध त हुन्छौं नै। अधिकांश महिला त पेसा सँगसँगै घरायसी काममा पनि व्यस्त हुन्छन्। कहिलेकाहीं लेख्नका लागि मानसिक रुपमा तयार भए पनि लेख्न भ्याइँदैन। तथापि हामी बाँचेको समाज, परिवेश, घटना, भोगाइ र अनुभूति नै सिर्जनात्मक स्रोत हुने भएकाले जीवन भोगाइका क्रममा साक्षात्कार हुने विविध सन्दर्भले साहित्य सिर्जनामा ऊर्जा प्राप्त हुँदो रहेछ।

कविताबाहेक साहित्यका कुन विधामा तपाईंका रचना प्रकाशित छन्?

कविता मेरो सर्वप्रिय विधा हो। अध्ययन सबै विधाको गरिन्छ। कविताबाहेक केही कथा र गजल लेखेकी छु। तर पुस्तकका रूपमा प्रकाशित भएको चाहिँ छैन।

‘जीवनको पाठशाला’ मा कस्ता कविता छन्?

यसमा गद्य र पद्य गरी दुई खण्ड छन्। यी कविताहरू सामाजिक विसंगति, मानवीय मूल्यको खोजी, लैंगिक विभेद, राष्ट्रियताजस्ता विषयमा केन्द्रित छन्। यो मैले भन्दा पनि पाठकले मूल्यांकन गर्ने विषय हो।

मोफसलमा पेसा व्यवसायमा व्यस्त रहेर पनि साहित्य सिर्जनामा सक्रिय अन्य स्रष्टाहरूलाई के भन्नुहुन्छ?

मोफसलमा रहेर आफ्ना पेसा व्यवसायमा व्यस्त रहने र साहित्य सिर्जनामा सक्रिय थुप्रै स्रष्टाहरू हुनुहुन्छ। म चितवनको मान्छे। चितवनमै धेरै अग्रज र समकालीन स्रष्टाहरू हुनुहुन्छ। जसले स्तरीय कृतिहरू सिर्जना गर्नुभएको छ। राष्ट्रिय स्तरमा चर्चा कमाइरहनुभएको छ।

स्वाभाविक रूपमा केन्द्रमा रहेर साहित्य सिर्जनामा सक्रिय रहँदा मोफसलमा रहँदाभन्दा धेरै अवसर प्राप्त हुन सक्छन्। तथापि वर्तमान समय सूचना र सञ्चारको हो। साहित्य पनि प्रविधिमैत्री भइसकेको छ। त्यसकारण प्रतिभासम्पन्न स्तरीय सर्जकहरूले ख्याति पनि प्राप्त गरिरहनुभएको छ। पहिलेको जस्तो ‘मोफसल पीडा’ अहिले छ जस्तो लाग्दैन ।

तपाईंको कविता संग्रह किन पढ्ने?

सामान्य रूपमा साहित्य पठनको उद्देश्य मनोरञ्जन प्राप्ति, आनन्द प्राप्ति, समाज र जीवनजगतप्रति लेखकको दृष्टिकोण बुझ्नु नै हुने भएको हुनाले यस संग्रहबाट पनि पाठकलाई कुनै न कुनै उद्देश्य प्राप्त हुनेछ भन्ने अपेक्षा गरेकी छु।

प्रकाशित: Sep 12, 2020| 07:32 शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।