भैरहवा– गएको चैतदखि अधिकांश निर्माणको काम प्रभावित भए पनि निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम भने निरन्तर भइरहेको छ। जसको फलस्वरुप पूर्वनिर्धारित समय आगामी डिसेम्बरसम्ममा विमानस्थल निर्माण कार्य सम्पन्न हुने बताइएको छ ।
यसैबीच शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, प्रदेश ५ का पर्यटन मन्त्री लिला गिरी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, आयोजनाका प्रमुख प्रदीप अधिकारीसहितको टोलीले निर्माणाधीन विमानस्थलको आकस्मिक निरीक्षण गरेका छन् ।
स्थलगत निरीक्षणपछि मन्त्री भट्टराईले देशभर २१ वटा गौरवका आयोजना सञ्चालन भएकोमा त्यसमध्ये सम्पन्न हुने पहिलो राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुने बताए। मन्त्री भट्टराईले पत्रकारहरुसँग भने, ‘छिट्टै भैरहवाबाट विदेश उडिन्छ, ढुक्क हुनुहोस् ।’
भट्टराईले कोरोना संक्रमण नियन्त्रणसँगै भैरहवाबाट सिधा हुने वैदेशिक उडानले लुम्बिनी क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने समेत बताए ।
प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रगति राम्रो भएको बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भारतले रुट नदिँदा पनि भैरहवा विमानस्थलमा विदेशी उडान भर्न कुनै समस्या नपर्ने बताए ।
निर्माणाधीन विमानस्थलमा अहिले ३५ जना चिनियाँसहित २९० जनाले काम गरिरहेका छन् । ३० जना चिनियाँ दक्ष कामदार कोरोना संक्रमणका कारण चीनमै रोकिएकोले उपकरण जडानमा ढिलाइ भएको छ ।
विमानस्थलका योजना प्रमुख प्रवेश अधिकारीले ९३ प्रतिशत काम सम्पन्न भएको बताए। विमानस्थलमा अहिले टायल विछ्याउने, कन्ट्रोल टावर, टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडान, विद्युतीकरण, भवनहरु फिनिसिङ, रंगरोगन लगायतका काम भइरहेको छ। धावनमार्गमा मार्किङको काम सकिएको र लाइटिङको फाउन्डेसन तयार गरी लाइट जडानको तयारी भइरहेको छ ।
फायर भवन फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ भने जहाज र ट्याक्सी पार्किङ स्थलको सिभिलतर्फको काम सकिएर विद्युतीकरणको काम सुरु भएको छ । धावन मार्गको वरीपरी पेरिमिटर सडक निर्माणको काम सुरु भइसकेको उनले जनाए ।
टर्मिनल भवनमा प्रयोग गरिने ब्यागेज ह्याण्डलिङ सिस्टम, सञ्चार उपकरण र कन्भेयर बेल्ट, धावन मार्गका लागि आवश्यक लाइट लगायतका उपकरणहरु जडानको काम पनि बाँकी छ । चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले निर्माणको काम गरिरहेको छ ।
निर्माणको ठेक्का पाएको नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्सट्रक्सन ग्रुपले ठेक्का लिई सब कन्ट्रयाक्टरको रुपमा नेपाली ठेकेदार कम्पनी नर्थवेस्ट नेपाल इन्फ्रा प्रालिलाई २०७२ साउनदेखि आन्तरिक सम्झौता गरी सम्पूर्ण निर्माण कामको ठेक्का दिएको थियो । तर उनीहरुबीच लेनदेनको विवादले लामो समय कामसमेत रोकियो।
विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने कार्यमा एडिबीले ४०.५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट ३०.५ प्रतिशत, एडिबीको अनुदान १८ प्रतिशत र नेपाल सरकारको ११ प्रतिशत तथा कर समेत गरी लागत बेहोेर्ने गरी निर्माण कार्य शुरु भएको हो ।
गौतमबुद्ध विमानस्थललाई केन्द्र बनाएर जापान, चीन, श्रीलंका, भियतनाम म्यानमार र कम्बोडिया लगायतका देशले अन्तर्राष्ट्रिय उडानका लागि इच्छा जाहेर गरेका छन् ।
यता सरकारले पनि आफ्नै लागतमा विमानस्थलको लागि आवश्यक विभिन्न स्थानिय परियोजना निर्माण गरिरहेको छ । नेपाल सरकारको ९० करोड ३६ लाख लागतमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण भागमध्येको एक कार्गो (गोदाम) भवन निर्माणको काम भईरहेको छ ।
उक्त भवन दुई बर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी एसएस शर्मा–लुम्बिनी गजुरमुखी जेभीले निर्माण गरिरहेको छ । ८० हजार स्क्वायर फिट क्षेत्रफलमा बन्ने भवन नेपालमा अहिलेसम्म बनेका भन्दा अत्याधुनिक, व्यवस्थित र स्तरीय हुनेछ ।
घरेलु विमानस्थलको रुपमा रहेको यो विमानस्थलको स्तरोन्नती गर्ने भन्दै औपचारिक रुपमा २०७१ साल माघ १ गते तत्कालिन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले शिलान्यास गरेका थिए।
२०१९ को सेप्टेम्बरदेखि अन्तर्राष्ट्रिय उडान गर्ने गरी तत्कालिन सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले घोषणा गरेको भए पनि अहिलेसम्म निर्माण कार्य सम्पन्न हुन सकेको छैन। प्रधानमन्त्री केपी ओली र पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पनि निकै चासो दिएर विमानस्थलको बारम्बार स्थलगत निरीक्षण गरिरहेका छन् ।
०२३ सालदेखि नियमित उडान भर्दै आएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा पर्याप्त जग्गा छ । ०६१ साल अघिसम्म ८४ बिगाह ३ कठ्ठा रहेकोमा ०६३ सालमा २ सय १३ बिगाह ४ कठ्ठा थप भएको थियो । पछि थप ५ सय विगाहको मुआब्जा बितरण भएको थियो। यसरी निर्माणाधीन गौतमबुद्ध विमानस्थलको जग्गाको स्वामित्व ७ सय ८७ बिगाह ७ कठ्ठा हुन पुगेको छ ।
यो क्षेत्रफलले आगामी ५० वर्षसम्म अन्तराष्ट्रियस्तरको उडान भर्ने क्षमता राख्ने विमानस्थल बन्ने आयोजनाको दाबी छ । दैनिक ८–९ वटा नियमित उडान भरिरहेको गौतमबुद्ध विमानस्थलमा अहिलेसम्म सबैभन्दा ठूलो फोकरहन्ड्रेड १०५ सिटे कस्मीक एअरको जहाजले उडान भरेको देखिन्छ।
