काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ।
पार्टीको शुक्रबार बसेको स्थायी कमिटीको बैठकले कात्तिक १५ देखि १७ सम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले महाधिवेशन तयारीका लागि आवश्यक काम गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय भएको जानकारी दिए।
नेकपाको स्थायी कमिटीको बैठकले महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ।
पार्टीका सांसदहरुले केन्द्रीय कमिटीको बैठक बोलाउन माग राख्दै केही समयअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई लिखित हस्ताक्षरसमेत बुझाएका थिए।
