काठमाडौं– कोभिड–१९ महामारीका कारण राजनीतिक गतिविधि ठप्पप्रायः भएको बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशव्यापी रुपमा नेता–कार्यकर्ताहरुसँग भर्चुअल बैठक गर्न थालेका छन्।
बैठकमा कोभिड–१९ को प्रभाव र बढ्दो संकट, मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी एकता र भावी योजनाका बारेमा छलफल हुने गरेको पार्टीले जनाएको छ।
अध्यक्ष थापाले राप्रपालाई मुलुकको बलियो वैकल्पिक शक्ति बनाउन क्रियाशिल हुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
झण्डै दुईतिहाइको बहुमतप्राप्त सरकार जनताको नजरमा दिन प्रतिदिन असक्षम सावित हुँदै गएको र नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकाबाट प्रभावहिन देखिएकोले राप्रपाले आगामी दिनमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न संगठन केन्द्रित हुन अध्यक्ष थापाको जोड थियो।
भर्चुअल बैठक प्रदेश, जिल्ला, क्षेत्र र जनवर्गीय संगठनको तहसम्म निरन्तर जारी रहने राप्रपा केन्द्रीय सचिबालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
बैठकमा सहभागी नेताहरुले अहिलेको अवस्थामा पार्टीं एकता आवश्यक भएकोले सिद्धान्त र विचारमा सम्झौता नगरी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन सुझाव दिएका थिए ।
