काठमाडौं– गएको १० असारदेखि जारी नेकपाको स्थायी कमिटी बैठक आज सकिएको छ। झन्डै डेढ महिनादेखि अवरुद्ध बैठक आज बसेर सकिएको हो।
बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकको सुरुमै मन्तव्य राखेर अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली बाहिरिएका थिए। बैठकमा ओलीले दुई अध्यक्षले तयार पारेको प्रस्तावका बारेमा आफ्ना धारणा राखेका थिए।
ओली २० मिनेट आफ्ना धारणा राखेपछि बैठक सञ्चालनको जिम्मा दाहाललाई दिएर बाहिरिएका हुन्।
त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेताहरु देव गुरुङ, लिलामणि पोखरेल, घनश्याम भुसाल, मात्रिका यादव, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, भीम आचार्यलगायतले बालेका थिए।
उनीहरुले अध्यक्षद्वयले राखेको प्रस्तावका बारेमा कुरा राखेका थिए। बैठकमा नेता नेपालले आफ्नो १५ बुँदे असहमतिका विषयमा भनाइ राखेका थिए।
उनले आफ्नो विषय प्रस्तावमा नसमेटिएको भन्दै कडा रुपमा प्रस्तुत भएको बताइएको छ। अध्यक्षद्वयले सहमति गरेर मात्रै नहुने उनको धारणा थियो।
