विराटनगर– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णय मालपोत कार्यालयले कार्यान्वयन नगरेको भन्दै घरजग्गा व्यवसायी संघ मोरङले शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय मोरङमा तालाबन्दी गरेको छ।
चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत शुक्रबार १ घण्टा कार्यालयको मूलगेटमा तालाबन्दी गरिएको व्यवसायी संघका मोरङ अध्यक्ष घनश्याम पोखरेलले बताए।
भूउपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रहेर जग्गाको कित्ताकाट सम्बन्धि व्यवस्था खुलाउन मालपोत कार्यालयहरुलाई निर्देशन दिएपछि निर्णय कार्यान्वयन नगरेको विरोधमा चरणबद्ध आन्दोलनमा उत्रन बाध्य भएको अध्यक्ष पोखरेलले बताए।
सरकारी निकायहरु सरकारको निर्णय कार्यान्वयन गर्नुको सट्टा उल्झन खडा गरी कानाकानी गर्ने गरेको उनले बताए। ३७ महिनादेखि जग्गाको कित्ताकाट रोकिँदा घरजग्गा व्यवसायको क्षेत्रमा भएको खर्बौं लगानी जोखिममा रहेको पोखरेलले बताए। आइतबारदेखि मालपोत कार्यालय पूर्णरुपमा बन्द गरिने समेत उनले चेतावनी दिएका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूउपयोग नियमावली नबन्दै भदौ १८ गते जमिनको कित्ताकाट खोलेको थियो।
तत्कालीन भूमिसुधारमन्त्री गोपाल दहितले २०७४ साउन २६ गतेदेखि जग्गाको कित्ताकाट रोक्ने निर्णय गरेका थिए।
कित्ताकाटको अधिकार स्थानीय तहमा हस्तान्तरण
जग्गाको कित्ताकाट खुलाउनेबारे भदौ २२ गते जारी गरेको सूचनाबारे विवाद भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले पुनः अर्काे पत्र सार्वजनिक गरेको छ ।
भदौ २५ गते जारी अर्काे पत्रमा स्थानीय तहले आफ्नो कानुनबनाएर मापदण्ड निर्धारण गरेको भए सोही अनुसार र स्थानीय तहमा कानुन नबनेको अवस्थामा भूमि सम्बन्धी नियमावली २०२१ अनुसार स्थानीय तहको सिफारिसमा जग्गाको कित्ताकाट गर्न पाउने भनिएको छ ।
स्थानीय तहले कानुन बनाएको भए कानुनअनुसार र कानुन निर्माण नभए भूमि सम्बन्धी नियमावली, २०२१ को नियम ३९ (थ) अनुसार स्थानीय तहको सिफारिसमा जग्गाको कित्ताकाट सुरु हुने पत्रमा उल्लेख छ ।
