भैरहवा– कोरोना महामारीको बेला प्रेस र एच लेखेका सवारीसाधन निष्फिक्री गुड्दा संक्रमण झनै फैलिएको भन्दै रुपन्देहीका सञ्चारकर्मीहरुले त्यस्ता सवारीसाधनको कडा चेकजाँच गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् ।
प्रेस र एच लेखेका सवारीसाधन अधिकांश निजी प्रयोजन तथा गैरव्यक्तिले प्रयोग गरिरहेको उनीहरुको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई पत्रकारहरुले भने, ‘खास पत्रकारहरुले प्रेस नै नेलेखी परिचयपत्र भिरेर हिँडेका छन् । तर, अरुले गाडीमा प्रेस लेखेर हिँडेका छन् । हामी पूर्ण सहयोग गर्छौं, प्रशासनले प्रेसको दुरुपयोग गर्नेलाई कारबाही गरिदिनुपर्यो।’
पत्रकार महासंघका रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले प्रेस लेखेकै भरमा जाँच नगर्ने गरिएको भन्दै त्यसो नगर्न आग्रह गरे। अध्यक्ष जिसीले अन्य पेशामा आवद्धहरु पनि यतिबेला आवतजावत गर्न सहज हुने हुँदा प्रेस लेखेर हिँड्ने गरेको आफूले पनि देखेको बताए।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष दीपेश पछाईले प्रेसको दुरुपयोग हुन नदिन प्रशासनलाई सहयोग गर्न आफूहरु तयार भएको बताए ।
पत्रकारहरुको आग्रहपछि प्रजिअ घिमिरेले प्रेस र एच को दुरुपयोग हुन नदिन प्रहरी प्रशासनलाई सक्रिय रुपमा चेकजाँच गर्ने निर्देशन दिने बताए। सीमामा भारतीयको अवैध ओहोरदोहोरले कोरोना संक्रमण बढेको तर्फ पनि उच्च सतर्कता अपनाउने प्रजिअ घिमिरले बताए।
