काठमाडौं- केही समयदेखि आन्तरिक किचलोमा फसेको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा हालै गठित कार्यदलले तयार गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।
प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य सूर्य थापाले ट्विट गर्दै पार्टीलाई अतीतमुखी कचिङ्गलबाट मुक्त गरेर सुन्दर भविष्यमुखी बनाउने अपेक्षा गरिएको बताएका छन्।
'गुटबन्दी र गणितीय चलखेलबाट मुक्त भएर पार्टी एकीकरण, सहमति र अग्रगतिका साथ भविष्यमुखी बन्न अग्रसर हुनुको अर्को विकल्प पनि त छैन,' थापाले भनेका छन्।
प्रधानमन्त्री एवम् अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच गत सोमबार बिहान भएको छलफलमा शुक्रबारका लागि स्थायी कमिटी बैठक डाक्ने सहमति भएको थियो।
असार १० गते सुरु भएपछि मूल कार्यसूचीमै प्रवेश नगरी स्थगित हुँदै आएको स्थायी कमिटी बैठक लामो छलफलपछि आजका लागि बोलाइएको हो। स्थायी कमिटी बैठक साउन १३ देखि अनिश्चितकालका लागि स्थगित भएको थियो।
बैठक प्रधानमन्त्री ओलीले एकलौटी रुपमा स्थगित गरेका थिए।
साउन ३० मा दुई अध्यक्षबीच भएको छलफलमा पार्टी विवाद समाधानका लागि कार्यदल गठन गरिएको थियो।
कार्यदलले दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदनमाथि भदौ १८ मा बसेको सचिवालय बैठकमा छलफल भएको छ।
