काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण भूमिका हुने बताएका छन्।
कोभिड १९ को उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका लागि आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल र परामर्श गर्दै उनले आयुर्वेदभित्रै योग पनि पर्ने बताए। आयुर्वेद औषधि र आरोग्य विज्ञान दुबै भएको प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्रीले मेसिनहरू एलोपेथिक नभएको प्रष्ट पार्दै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकरणको प्रक्रिया मिसाउनुपर्ने आवश्यकतामा जोड दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन नै सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेको र यसमार्फत् भविष्यमा सिंगो विश्वको ध्यानाकर्षण गरी आयुर्वेद र योगको विकास गर्ने लक्ष राखिएको उल्लेख गरे।
‘निरोगी नेपाल निर्माणमा आयुर्वेदको भूमिका व्यापक बढाउन सरकार दृढ रहेको छ,’ प्रधानमन्त्रीले भने, ‘हाम्रा पूर्वजहरूले औषधिमय खानपानको प्रबन्ध मिलाएका, ताजा खानेकुरा खाने परम्परा बसाएका र लामो अनुुभव र प्रयोगबाट औषधिमय तत्वको पहिचान र प्रयोग गरेका थिए।’
कोभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयोगात्मक मात्रै नबनाउन र यसको प्रयोगलाई बढाउनसमेत सबैको ध्यानाकर्षण गराए। नेकपाका अध्यक्ष पुष्पकमल दाहालका साथ विज्ञहरूसँग तीन घण्टा सुझाव लिएका प्रधानमन्त्रीले आयुर्वेद उपचारमा हाल गरिरहेका कामहरू र उपयोगी घरेलु विधिहरूको सम्मान गर्न तथा सञ्चारमाध्यमबाट त्यसको व्यापक प्रचारप्रसार गर्न पनि जोड दिए।
छलफलमा आयुर्वेद विभागका महानिर्देशक वासुदेव उपाध्याय, डा.ऋषिराम कोइराला, डा. प्रदीप केसी, विनोद पौडेल, डा. रामआधार यादव, डा. सन्तोष ठाकुर, प्रा.डा डीबी रोका, डा. शिवमंगल प्रसाद, डा. प्रकाश ज्ञवाली र डा.धनिकलाल भर्खरलगायतले आ–आफ्ना धारणा राखेका थिए।
उनीहरुले प्रधानमन्त्रीको तहबाट आयुर्वेदिक क्षेत्रलाई महत्त्व दिएर पहिलोपटक परामर्श गरिएकोमा धन्यवाद व्यक्त गरे।
छलफलमा सहभागी नेकपाका अध्यक्ष दाहालले कार्यक्रममा प्रधानमन्त्रीले सहभागी गराएकोमा धन्यवाद ज्ञापन गर्दै दुबै अध्यक्षलाई गम्भीर ढंगले घच्घच्याउने काम गरेको बताए।
