काठमाडौं- आफ्नै घरमा भाडामा बस्ने १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मोरङमा एक जना पक्राउ परेका छन्।
सुन्दरहरैंचा नगरपालिका–४ का ५४ वर्षीय अवकाश प्राप्त भारतीय सैनिक उमेश नेपाललाई प्रहरीले पक्राउ गरेको हो।
नेपालले आफ्नै घरमा भाडामा बस्ने बालिकालाई दुई वर्षदेखि बलात्कार गर्दै आएको खुलेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।
नेपाललाई बुधबार जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरी अनुसन्धान अघि बढाइएको खड्काले जानकारी दिए। पीडित बालिकाले मंगलबार अभिभावकलाई घटनाबारे जानकारी गराएपछि बुधबार नेपालविरुद्ध किटानी जाहेरी दिएका थिए।
प्रारम्भिक अनुसन्धान र सोधपुछका क्रममा पीडित बालिकामाथि नेपालले घरमा, होटल र बाटोमा समेत बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्की दिँदै आएका नेपालले ‘मर्निङवाक’ को बहानामा बिहान ४ बजेतिर बाहिर लैजाने र बाटोमा बलात्कार गर्ने गरेको बालिकाले प्रहरीलाई बताएकी छन्।
