काठमाडौं– आगामी असोज अन्तिमसम्ममा नेपालमा ९० हजार कोरोना संक्रमित पुग्ने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ।
सोही अनुमानलाई आधार मानेर संक्रमितको उपचार तथा व्यवस्थापनमा मन्त्रालय लागेको सहप्रवक्ता डा. समिर अधिकारीले बताएका छन्।
‘असोजसम्मको एक्सन प्लान तयार गरी काम गरिरहेका छौं। मन्त्रालयको अनुमान र योजनाभन्दा फरक अवस्था भए वा संक्रमितको दर बढे योजना परिवर्तन गरेर जान्छौं,’ उनले भने।
अक्सफोर्ड विश्वविद्यालयले केही दिनअगाडि समुदायस्तरमा संक्रमण फैलिए नेपालमा ८० प्रतिशतसम्म जनसंख्या संक्रमित हुन सक्ने प्रक्षेपण गरेको थियो। मन्त्रालयका सहप्रवक्ता अधिकारीले भने उक्त प्रक्षेपणको कुनै आधार नभएको बताए।
जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले पनि वर्षौंसम्म कोरोना रहिरहे मात्र अक्सफोर्डको उक्त अनुमान पूरा हुने बताए।
आज (बुधबार)सम्मको तथ्यांकअनुसार कोरोना संक्रमितको कुल संख्या ४८ हजार पुगेको छ। अर्को महिना ९० हजार संक्रमित पुग्ने अनुमान गरेर तयारी गरिएको भए पनि उक्त संख्या नपुग्नेमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरु ढुक्क छन्।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना संक्रमण अझै केही वर्ष रहिरहने भन्दै सावधानीपूर्वक कोरोनासँगै जीवन बिताउनुपर्ने जनाएको छ। त्यसका लागि मास्क लगाउने, भौतिक दूरी कायम राख्ने, साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न विज्ञको सुझाव छ।
स्वास्थ्य मन्त्रालयले पनि एसएमएस (सोसल डिस्टान्स, मास्क, स्यानिटाइजर) विधिमा कडाइ गर्न आग्रह गर्दै आएको छ।
