काठमाडौं– कञ्चनपुरमा १६ वर्षीया किशोरीलाई बन्धक बनाएर जबर्जस्ती करणी गरेको घटनाको अनुसन्धानमा लापरवाही गरेको आरोपमा एक प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ।
इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई बलात्कार घटनामा लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले उक्त घटनामा मुछिएका प्रहरी जवान रोकायालाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झिकाइएको जानकारी दिए।
‘५–६ जनाको नाममा किटानी जाहेरी परेको छ, हामी अनुसन्धानमा छौं,’ थापाले भने, ‘त्यसमा प्रहरी जवान रोकाया पनि छन्।’
भदौ १४ गतेदेखि बेपत्ता १६ वर्षीया किशोरी पाँच दिनपछि फेला परेको प्रहरीले जनाएको छ। १९ गते फेला पारेर किशोरीलाई सोधपुछ गर्दा केही नबताएपछि उनलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
पछि जबर्जस्ती करणीमा मुद्दा परेपछि सोहीअनुसार अनुसन्धान अघि बढेको थापाले जानकारी दिए। किशोरीले आफूलाई ५–६ जना युवाको समूहले बन्धक बनाएर बलात्कार गरेको बताएकी छन्।
किशोरीको उजुरीका आधारमा बेल्डाँडीका २८ वर्षीय मनमोहनसिंह साउदलाई प्रहरीले पक्राउ गरिसकेको छ। घटनामा संलग्न भनिएका अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
