काठमाडौं– नेपाल प्रहरीमा कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको छ।
अहिलेसम्म चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित देशभर दुई हजार ४१३ जना प्रहरी कोरोना संक्रमित भएका छन्।
संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ७६६ जना छन्।
प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतका अनुसार देशभर एक हजार ३९९ जना आइसोलेसनमा छन्।
एक हजार एक सय १४ जना उपचारपछि डिस्चार्ज भएका छन्। प्रहरी प्रधान कार्यालयमा कार्यरत ८८ र उपत्यकामा ६७९ जना सक्रिय संक्रमित रहेको प्रवक्ता कडायतले बताए।
प्रदेश १ मा १४६, प्रदेश २ मा ६१, बागमतीमा ७८, गण्डकीमा ७९, प्रदेश ५ मा १०७, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन्।
कोरोना संक्रमणको दर बढेपछि प्रहरीको दैनिक कामकाजमा समस्या उत्पन्न भएको छ।
प्रवक्ता कडायतका अनुसार कतिपय युनिट सिल गरिएका छन् भने कार्यालयको काममा खटिने कर्मचारीमा पनि नियमित काममा आउनेको संख्यामा कटौती गरिएको छ।
