विराटनगर– बिरामीलाई चिकित्सकले सिफारिस नै नगरेको गलत औषधि दिने विराटनगरको एउटा फार्मेसी सिल गरिएको छ।
औषधि व्यवस्था विभाग विराटनगरको टोलीले अनाधिकृत रुपमा औषधि बिक्री गर्ने फार्मेसी मंगलबार बन्द गरेको हो। चिकित्सकको सिफारिस बिना औषधि प्रयोग गर्न तथा बिक्री गर्न नमिल्ने विभागले जनाएको छ। औषधिको बिक्रीवितरणमा रोक लगाउँदै विराट नर्सिङ होम अगाडि रहेको महेश मेडिकल हलमा ताला लगाइएको विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले बताए।
उपचारमा संलग्न डाक्टरबाट सिफारिस नै नभएका औषधि फार्मेसीले बिरामीलाई आफूखुसी बेच्ने गरेको पाइएको उनको भनाइ छ। फार्मेसीका सञ्चालक कृष्णकुमार यादवले कुटपिटबाट घाइते भएकी मोरङको जहदा गाउँपालिका–२ की ७० वर्षीया वृद्धा दुर्गादेवी पासवानलाई गलत औषधि दिएको पाइएको छ।
विभागका प्रमुख कट्टेलले पसलको सबै कागजात नियन्त्रणमा लिएर छानबिन थालिसकिएको जानकारी दिए। उनले सुरुमा फार्मेसीलाई निलम्बन गरेर अरु कारबाही अघि बढाइने बताए। उनले बिरामीलाई गलत औषधि दिएर औषधि ऐन २०३५ को परिच्छेद ४ को बर्खिलाप गरेकोले त्यहीअनुसार कारबाही अघि बढाइने बताए।