विश्वका थुप्रै कम्पनी अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन निर्माणमा जुटेका छन्।
केही कम्पनी लगभग अन्तिम चरणमा छन् भने कैयौं प्रारम्भिक चरणमै संघर्ष गरिरहेका छन्। कतिपयले भने भ्याक्सिन तयार हुने मितिसमेत सार्वजनिक गरेका छन्।
तमाम चुनौती पार गरेर बन्यो भने पनि कोरोनाको भ्याक्सिन फर्मा कम्पनीको ल्याबबाट आम मानिससम्म पुग्ने यात्रा सजिलो हुने छैन। वितरक कम्पनीहरु यसका लागि विशेष तयारीमा जुटेका छन्।
अमेरिकी लजिस्टिक कम्पनी यूपीएसले करिब फुटबल मैदानजत्रै आकारको एउटा स्टोरेज फ्यासिलिटी युरोपको नेदरल्याण्डमा बनाएको छ। भ्याक्सिन बन्यो भने त्यसलाई सुरक्षित तरिकाले विश्वभर पुर्याउने तयारीमा छ यूपीएस।
स्टोरेज फ्यासिलिटीमा लामा समानान्तर पंंक्तिमा राखिएका दुई मिटर अग्ला दर्जनौं फ्रिजरमा लगातार माइनस ८० डिग्री सेल्सियस तापमान कायम राखिन्छ। यिनै फ्रिजरमा कोभिड–१९ को भ्याक्सिन राखिने छ। यहीँबाटै भ्याक्सिनले आम मानिससम्मको यात्रा तय गर्नेछ।
यस्तो तयारी वितरक कम्पनीबाहेक विश्वस्तरमा सरकारहरु, अन्तर्राष्ट्रिय संगठन र फर्मा कम्पनीहरुले पनि गरिरहेका छन्।
महामारीको सुरुवातदेखि अहिलेसम्म भ्याक्सिनको विकास, उत्पादन र सप्लाई चेन स्थापित गर्नमा कैयौंं अर्ब डलर लगानी भइसकेको छ। नेदरल्याण्डस्थित यूपीएस हेल्थकेयरका प्रमुख अनूक हेसेन भन्छन्, ‘कोरोना भाइरससँग लड्न औषधि उद्योगहरुको सहयोगका लागि हामी आफ्नो क्षमता र अनुभवको उपयोग गरेर ठूलो लगानी गरिरहेका छौं।’
डिप फ्रिजरमा निकै तल्लो तापक्रममा भ्याक्सिनलाई लामो समयसम्म सुरक्षित राख्न सकिन्छ। जर्मनी र अमेरिकामा यूपीएसको एयर कार्गो नजिकै यस्ता केन्द्र बनाइँदै छन्।
यी दुई केन्द्रमा यस्ता करिब ६०० फ्रिजर राखिने छन्। प्रत्येक फ्रिजरमा भ्याक्सिनको ४८ हजार डोज राख्न सकिन्छ। यसबाहेक अन्य संवेदनशील भ्याक्सिनलाई स्टोर गर्नका लागि यिनै सेन्टरहरुमा थप डिप फ्रिजर पनि बनाइँदै छ।
विश्वमा केही स्थानमा ‘म्यासेन्जर–आरएनए’ मा आधारित संंवेदनशील भ्याक्सिन बनाइँदैछ, जसले शरीरमा पुगेर कोरोनाविरुद्ध लड्न भाइरस जस्तै प्रोटिन बनाउन सक्छन्।
यूपीएस सेन्टरका हेसेनका अनुसार कम्पनीले ठूला फर्मा कम्पनीसँग छलफल थालेको छ। हाल अमेरिकी फर्मा कम्पनी मडर्ना र फाइजर, जर्मन कम्पनीहरु बायोएनटेक र क्योरभ्याकले ‘म्यासेन्जर–आरएनए’ मा आधारित भ्याक्सिनमा काम गरिरहेका छन्।
कोरोना भ्याक्सिनको यात्रा
तयार भएपछि भ्याक्सिन विशेष इन्सुलेटेड डिब्बामा राखिन्छ। भ्याक्सिनलाई चिसो बनाइराख्नका लागि यी डिब्बामा सुख्खा बरफ वा जमेको कार्बन डाइअक्साइड भरिएको हुन्छ। त्यसपछि यी डिब्बालाई यूपीएस केन्द्रका फ्रिजरमा लगेर भण्डारण गरिन्छ
फ्रिजर फर्मका प्रमुख हेसेन भन्छन्, ‘यी फ्रिजर फर्ममा कोही पनि बिना पीपीई किट काम गर्दैन। हाम्रा कर्मचारीलाई आवश्यक गियर, पञ्जा, चश्मा आदि लगाउन भनिन्छ। यी सबै सामाग्रीबिना यति चिसोमा कसैले काम गर्न सक्दैन।’
अगाडिको यात्रामा जसै ग्राहकबाट भ्याक्सिनको माग आउनेछ, भ्याक्सिनलाई फेरि उस्तै इन्सुलेटेड डिब्बामा सुख्खा बरफसँगै राखेर प्याक गरिनेछ। यी डिब्बामा भ्याक्सिन बढीमा ९६ घण्टासम्म मात्र राख्न सकिन्छ। भ्याक्सिन प्याक गर्ने कोठाको तापक्रम पनि माइनस २० डिग्री सेल्सियसको हुनेछ।
उसो त अहिलेसम्म चलनचल्तीमा रहेका अन्य भ्याक्सिनका लागि २ देखि ८ डिग्री सेल्सियससम्मको तापक्रम सबैभन्दा उपयुक्त मानिन्छ। प्याक गरिएका डब्बालाई फेरि विमानबाट विश्वको कुनै पनि कुनामा पुर्याउन सकिन्छ।
अहिले विश्वभरमा कसैगरी पनि कोभिड– १९ विरुद्धको भ्याक्सिन बनाउने प्रतिस्पर्धा भइरहेको छ। यी भ्याक्सिन व्यक्तिसम्म पुर्याउँदासम्म कस्तो सावधानी अपनाउनु पर्नेछ भन्नेबारेमा निकै कम जानकारी छ।
यद्यपि, सम्भावित चुनौतीका लागि तयार रहने कोसिसमा यूपीएसजस्ता कम्पनीले भ्याक्सिनको ट्रायल फेजमा पनि सहभागिता जनाइरहेका छन् र अमेरिकी सहर एटलान्टामा यसको एउटा युनिट क्लिनिकल ट्रायलका लागि भ्याक्सिन पुर्याउने काम गरिरहेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिले विश्वमा करिब १७० वटा भ्याक्सिन निर्माणमा काम भइरहेको छ, जसमध्ये ३० वटाको क्लिनिकल ट्रायल सुरु भएको छ। यी सबै भ्याक्सिन माइनस ८० डिग्री सेल्सियसको तापक्रममा राख्न जरुरी हुने खालका छैनन् ।
तरपनि भण्डारण गर्ने कम्पनीहरु कोसिस जस्तोसुकै भ्याक्सिन बने पनि सम्भावित व्यक्तिसम्म पुग्न ढिलो नहोस् भन्नेमा सजग छन्।
–डीडब्ल्यूबाट