मंगलबार, भदौ २३, २०८३

महासंघको निर्वाचन ई–भोटिङमार्फत गर्न सुझाव पेश

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को साधारण सभा डिजिटल प्रविधिमार्फत गर्न सुझाव पेश भएको छ।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को साधारण सभा डिजिटल प्रविधिमार्फत गर्न सुझाव पेश भएको छ।

कोरोना महामारीबीच साधारण सभा गर्ने सम्बन्धमा अध्ययन गर्न बनाइएको समितिले निर्वाचन इलेक्ट्रोनिक भोटिङमार्फत गर्न सुझाव दिएको हो।

अध्यक्ष भवानी राणालाई बुझाइएको प्रतिवदेनमा ५४औं वार्षिक साधारणसभाको उद्घाटन, बन्दसत्र र समापन कार्यक्रम जुममार्फत र निर्वाचन इलेक्ट्रानिक भोटिङमार्फत गर्न सकिने उल्लेख गरिएको छ।

सदस्य डिबी बस्नेतका अनुसार समितिले चार वटा विकल्प दिएको छ।

सकेसम्म पदाधिकारीहरू सर्वसम्मत चुनिनुपर्ने, चुनाव नगरी नहुने भएमा ई–भोटिङ गर्नुपर्ने, जिल्ला/नगर क्षेत्रको निर्वाचन सम्बन्धित प्रदेशमा गर्नुपर्ने, वस्तुगत तथा एसोसिएटको निर्वाचन काठमाडौमा गर्न सकिने सुझाव दिएको बस्नेतले बताए।

त्यस्तै परम्परागत शैलीमा निर्वाचन गराउँदा स्वास्थ्यको प्रोटोकल एवं निर्देशन पालना गरी निषेधाज्ञा खुकुलो हुँदा काठमाडौंमा नै गर्न सकिने सुझाव पेश गरिएको छ।

महासंघमा काठमाडौ उपत्यका बाहिरबाट आउनुपर्ने प्रतिनिधि १७० जना मात्रै भएकोले सरकारले अनुमति दिएको खण्डमा परम्परागत निर्वाचन पनि गर्न सकिने बताइएको छ।

गत साउन २१ गते महासंघले निर्वाचन कसरी गराउन सकिन्छ भनी अध्ययन गर्नका लागि ६ सदस्यीय समिति गठन गरेको थियो।

समितिमा वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवार बन्ने घोषणा गरेका चन्द्र ढकाल र किशोर प्रधान पक्षका ३/३ जना सदस्य थिए।

समितिमा जिल्ला र नगर उद्योग वाणिज्य संघ क्षेत्रबाट अरूणराज सुमार्गी र डीबी बस्नेत, वस्तुगत क्षेत्रबाट विनोद ढकाल र सुनिल गोपाल श्रेष्ठ तथा एसोसिएट क्षेत्रबाट भरतराज आचार्य र रंजीतराज आचार्य थिए।

समितिलाई प्रतिवेदन पेश गर्नका लागि एक महिनाको समय दिइएको थियो।

 

प्रकाशित: Sep 08, 2020| 14:30 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्