काठमाडौं– नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर ०.६४ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसको अर्थ कुल संक्रमितमध्ये अहिलेसम्म ०.६४ प्रतिशतको मृत्यु भएको छ।
आज सोमबारसम्मको तथ्यांकअनुसार हालसम्म ४७ हजार २३६ जना कोरोनाबाट संक्रमित भएकोमा ३०० जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको छ। पछिल्लो एक महिनायता हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ। महिना दिनयता दैनिक औसत ७ जना संक्रमितको मृत्यु भइरहेको छ।
२० जना कोरोना संक्रमित भेन्टिलेटरमा
देशभर १७१ जना कोरोना संक्रमित आईसीयूमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ६ जना, २ मा २४ जना, बागमतीमा १११ जना, गण्डकीमा ५ जना, प्रदेश ५ मा २१ जना, कर्णालीमा ३ जना र सुदूरपश्चिममा १ जना संक्रमित आईसीयूमा छन्।
त्यसैगरी भेन्टिलेटरमा २० जना संक्रमित छन्। यीमध्ये बागमतीमा १८ जना र प्रदेश ५ मा २ जना छन्।
