काठमाडौं– प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई गाली शिरोमणिको संज्ञा दिएका छन्।
निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाबारे डा. भट्टराईले गरेकाे टिप्पणीलाई लक्षित गरेर थापाले यस्तो अभिव्यक्ति दिएका हुन्।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सामाजिक मर्यादा र शिष्टता पोलेर खाएपछि सायद यस्तै हुन्छ कि ? डा. बाबुराम भट्टराई देशको प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गालीशिरोमणि ? ट्विटमा प्रयोग गरेका केही भाषा, गालीगलौज र सन्तुलन गुमाएको जस्तो अभिव्यक्तिबाट के बुझ्ने? के सिक्ने? के अनुशरण गर्ने?'
'विगत तीन वर्षसम्म अर्थमन्त्री हुँदा डा. युवराज खतिवडाका राम्रा कामको पक्षपोषण महाशयले कहिले गर्नुभएको थियो र अहिले उहाँ त्यस जिम्मेवारीबाट बिदाइ हुँदा गोहीका आँसु झारेजस्तो गर्नु र रूवाबासीको नक्कली नाटक प्रदर्शन गर्नु ?' थापाले लेखेका छन्, 'अरूको सम्मान नगर्नेले लोकबाट कसरी सम्मान र मर्यादा पाउँछ? कसरी त्यसको अपेक्षा गर्नु? प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखा जुधाएर तपाईं सामुन्नेमा उभिएर यसो भन्न सक्नुहन्छ- ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्व!'
थापाले अगाडि भनेका छन्, 'केपी ओली निरंकुश राजतन्त्रविरूद्ध गोलघर, जेल र सेलमा १४ वर्ष जेल बसिरहँदा तपाईं फन्डिङमा पीएचडी गर्दै हुनुहुन्थ्यो, अहिले त्यही फन्डिङको ऋण चुक्ता गर्दै हुनुहन्छ कि नुनको सोझो मात्रै ?'
थापाले भट्टराई पत्नी हिसिला यमीलाई पनि लक्षित गरेर टिप्पणी गरेका छन्। 'न्युयोर्क टाइम्सले २०७० सालमा एसियाकै भ्रष्ट महिला भनेर विशेष खोज रिपोर्ट प्रकाशित गरेको समेत बिर्सनुभयो? उहाँसँग तपाईंको के सम्बन्ध पर्छ? जबकि तपाईं र तपाईंकी श्रीमतीको सत्तामा हालीमुहाली चल्दा नातावाद, कृपावाद र फरियावादले माओवादलाई पनि धरधरी रूवाएको होइन र?'
थापाले प्रश्न गरेका छन्, 'तपाईंको स्तरमा गिरेर लेख्न त मलाई मन छैन, तर तपाईंको तन यहाँ, मन कहाँ छ आजभोलि? यस्तो बेचैन र असन्तुलितचाहिँ किन बनिरहनु भएको हो?'
डा. बाबुराम भट्टराईले ट्विट गर्दै यस्तो लेखेका थिए, 'डा. खतिवडाको बिदाइमा आँसु चुहाउने ठाउँ छैन। दुई तिहाइ निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै बिताए। विज्ञका रूपमा पाएको शंकाको लाभ पूरै खेर फाले। ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन न रुनु न हाँस्नु!'
सल्लाहकार थापाले भट्टराईलाई भनेका छन्, ‘तपाईं रून र हाँस्न केही गर्नु पर्दैन, बरू यस्तो लेखेर दुनियाँ हँसाउनचाहिँ छाड्नुस्। बहिदार बन्न सजिलो छ, बही बुझाउन गाह्रो भनेको सम्भवतः तपाईंको जस्तै हविगत हुँदा भनिएको होला। पूर्वप्रधानमन्त्री पदको गरिमा र सम्मानको यसरी आफैंले खिल्ली उडाएको त जगहँसाइ नै भयो, महोदय!’
