काठमाडौं- हरेक वर्ष भदौ २२ गते निजामती दिवसको अवसर पारेर सरकारले सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती कर्मचारी पुरस्कार घोषणा गर्ने गरेको छ ।
तर पछिल्लो चार वर्ष यता सरकारले सर्वोत्कृष्ट कर्मचारी भेट्टाएको छैन् । पछिल्लो पटक २०७३ सालमा सर्वोत्कृष्ट कर्मचारी पुरस्कार घोषणा गरिएको थियो। सो पुरस्कार तत्कालीन अर्थ सचिव शान्तराज सुवेदीलाई दिइएको थियो।
त्यसयता सर्वोत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको छैन् । २०७४, २०७५, २०७६ र यो वर्ष २०७७ मा पनि उत्कृष्ट र निजामती कर्मचारी पुरस्कार मात्रै प्रदा गरेको छ ।
सर्वोत्कृष्ट पुरस्कार दुई लाख, उत्कृष्ट पुरस्कार १ लाख र निजामती पुरस्कार ५० हजार रुपैयाँबराबरको हुने व्यवस्था छ।
सोमबार सरकारले निजामती दिवसको अवसर पारेर १० जना कर्मचारीलाई उत्कृष्ट तथा ३० जनालाई निजामती पुरस्कार घोषणा गर्न लागेको छ।
संघीय मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले यस वर्ष सर्वोत्कृष्ट पुरस्कार घोषणा नगर्ने जनाए। सर्वोत्कृष्ट पुरस्कार दिने आधार तयार नभएकाले घोषणा नगरिएको उनले बताए ।
सरकारले अघिल्ला वर्षमा पनि यस्तै कारण देखाएर पुरस्कार दिएकाे थिएन् ।
अहिलेसम्म शान्तराज सुवेदी, भाइकाजी तिवारी, सूर्य गौतमलगायतले सर्वोत्कृष्ट कर्मचारी पुरस्कार पाएका छन्।
निजामती सेवा ऐन २०४९ जारी भएको सम्झनामा हरेक वर्ष भदौ २२ गते निजामती दिवस मनाउने गरिएको छ।