काठमाडौं– जवाफदेहिता निगरानी समितिले धार्मिक तथा सांस्कृतिक परम्पराप्रति संवेदनशील हुन अपिल गरेको छ।
गत बिहीबार ललितपुरको पुल्चोकमा धार्मिक परम्परा तथा आस्थालाई अक्षुण राख्न भगवान मच्छिन्द्रनाथको रथयात्राका क्रममा भएको झडपप्रति दुःख व्यक्त गर्दै समितिले यस्तो अपिल गरेको हो।
समितिले आइतबार विज्ञप्ति प्रकाशित गर्दै अप्रत्यासित झडप तथा त्यसबाट प्रदर्शनकारी तथा प्रहरीसमेत घाइते भएको दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘धार्मिक स्वतन्त्रता नागरिकको नैसर्गिक तथा मौलिक हक हो। विशेष गरेर बहुधार्मिक तथा बहुसांकृतिक परम्परा बोकेको हाम्रो मुलुक नेपालमा यसले विशिष्ट अर्थ राख्ने मात्र नभएर राष्ट्रिय पहिचानसमेत झल्काउने गौरवमय इतिहास रच्दै आएको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैले परापूर्वकालदेखि चल्दै आएका धार्मिक आस्थाका केन्द्र तथा संस्कृतिक परम्पराको जस्तोसुकै परिस्थितिमा पनि संवद्र्धन, संरक्षण एवं प्रवद्र्धन गर्नु राज्यका हरेक निकायको प्रमुख दायित्व हो भने यस्तो बिषम परिस्थितीमा राज्यद्धारा लागू गरिएका नीति नियमको पालना गर्नु नागरिकको कर्तब्य हो।’
स्थानीय प्रशासन तथा सम्बन्धित निकायले समयमै पूर्वजानकारी नदिएकाले परम्परा धान्न प्रदर्शनमा उत्रिनुपर्ने अवस्था आएको समितिको ठहर छ।
‘उक्त घटना नेपालको संविधानले प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रतासम्बन्धी मौलिक हक, संयुक्त राष्ट्रसंघको मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ र नेपाल पक्षराष्ट्र रहेको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार महासन्धिका विरुद्धमा छ’, समिति संयोजक चरण प्रसाईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।