जनकपुरधाम– धनुषामा फेरि एक साता निषेध आदेश बढाइएको छ।
जिल्लाभरि कोरोना संक्रमणको जोखिम बढ्दै गएको र समुदायस्तरमै कोरोना संक्रमण देखिएकोले आइतबार राति १२ बजेदेखि लागू हुने गरी भदौ २८ गते राति १२ बजेसम्मका लागि निषेध आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु फेरि आगामी ७ दिनसम्मका निषेध आदेशको समयावधि थपिएको हाे ।
खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध डेरी, हार्डवेयर, कपडा पसल लगायतका पसल व्यवसाय सञ्चालकले ग्राहकहरुको तापक्रम नाप्ने, २ मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क स्यानिटाइजरको प्रयोग गर्ने, नेपाल सरकारबाट जारी भएको जनस्वास्थ्य र सुरक्षा मापदण्ड लगायतका अन्य मापदण्डहरुको समेत पालना गरी अर्को सूचना नभएसम्मका लागि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ ।
सोको अनुगमन दैनिक रुपमा उद्योग वाणिज्य संघले दैनिक विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्ने र अत्यावश्यक बाहेकका सम्पूर्ण पसलहरु शनिबार पूर्ण रुपमा बन्द गर्ने निर्णय समेत गरिएको हो ।
त्यस्तै होटेल तथा रेस्टुरेन्टको हकमा पीसीआर नेगेटिभ भएका व्यक्ति मार्फत मात्र अनलाईन अर्डरको माध्यमले होम डेलिभरि तथा ग्राहक स्वयं आएर प्याकिङ्ग गरी लैजान पाउने र टेकअवे विधिलाई प्रयोग गरि सेवा सञ्चालन गर्न आग्रह गर्नुका साथै होटेलमा भेटघाट तथा जमघट हुनेगरि भीडभाड नगर्न निर्देशन समेत दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले सैलुन, ब्युटीपार्लर, हाट बजार, जिमखाना, सिनेमा हल, पार्टी प्यालेस तथा सपिङ्ग मलहरु बन्द राख्न सूचना मार्फत जानकारी गराएको छ ।
साथै जिल्लाभरिको कुनै पनि स्थानमा राती ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल नगर्न तथा १० वर्ष भन्दा मुनीका बालबालिका र ६० वर्ष भन्दा माथिका व्यक्तिलाई कुनैपनि कामले घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
सार्वजनिक निजी सवारी साधन अर्को सूचना नभएसम्मका लागि सञ्चालन नगर्ने र मोटरसाइकल तथा सिटी रिक्साको हकमा जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बर प्रणाली अनुसार यातायात मापदण्ड पालना गरि बढीमा २ जना यात्रु मात्र राख्न निर्देशन दिइएको छ ।