शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘हामी भोकै मर्दैछौं, सरकार सर्पलाई ७२ करोड खुवाउँदैछ’

‘हामी भोकै मर्दैछौं, सरकार सर्पलाई ७२ करोड खुवाउँदैछ’

यति बेला चुनाव आउँदो हो त नेताहरु मतदाता खोज्दै आफ्नै खर्चमा गाउँ सम्म लग्थे होला, दैनिक भोज लाग्थ्यो।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं-  समय दिउँसोकोे तीन बजे। रत्नपार्कको पुरानो बसपार्क नजिक कोही पेटीमा सुतेका छन् भने कोही यताउती हिडिरहेका छन्। कोही समूहमा बसेर साउतीको स्वरमा बोल्दै छन्।

त्यही भीडमा जनकपुरका मुकेश झा पनि छन्। झट्ट हेर्दा ४५ कटेका जस्ता देखिने उनी भर्खर ३२ वर्ष पुगे। आफ्ने उमेर पुष्टि गर्न उनले खल्तीमा राखेको नागरिकता निकालेर देखाए।

भन्छन्, ‘५ महिना हुन लाग्यो राम्रोसँग खान पाएको छैन, कैयौँ दिन भोकै बस्दा शरीर सुकेर यस्तो भयो।’

जारी निषेधाज्ञाको बेला निःशुल्क पाइने खाना खोज्दै उनी यता आएका हुन्।

‘विहान गुहेश्वरी पुगेर एक प्याकेट खाना खाएको थिएँ, यता साढे ५ बजेतिर मात्र पाइन्छ, हिंड्दाहिंडदै फेरि भोक लागिसक्यो।’ उनले भने।

चार वर्षअघि राजधानी छिरेका मुकेश घर निर्माण गर्ने मिस्त्री हुन्। लकडाउन सुरु भए देखि बेकामे छन्।

दैनिक काम गरेर गुजारा चलाइरहेका मुकेशलाई घरभाडा तिर्न नसकेपछि घरबेटीले बबरमहलको कोठाबाट निकालिदिए।

‘दुई महिनाको भाडा बाँकी थियो, घरबेटीले सामानसमेत नदिएर कोठामा ताला लगाइदियो’ उनले सुनाए, ‘भाडा तिरेर आफ्नो सामान लैजा भनेका छन्, तर म गएको छैन।’

यतिबेला उनको रात राजधानीका सडक पेटीमा बित्छ भने दिन खाना खोज्दैमा।

‘जिन्दगी छाडा कुकुर जस्तै भयो,’ मुकेशले भने, ‘सरकारले घर जाने व्यवस्था गरिदिए हुन्थ्यो, त्यो नसक्ने भए खाने बस्ने व्यवस्था गर्नुपर्थ्यो, तर हामी जस्ता मजदुरको कुरा कसले सुन्ने ?’

मुकेशसँग कुरा गरिरहँदा पिठ्युँमा झोला बोकेका धनकुटाका जेनिश राई टुपुल्किए।

‘सर मैले पनि आफ्नो दुखका कुरा भन्न पाउँछु की?’ जेनिशले सोधे।

‘लकडाउनको दुई महिनासम्म लेलेडाँडामा छानो निर्माणको काम गर्दासम्म ठिकै थियो। त्यसपछि अर्र्को काम पाइएन,’ जेनिश भन्छन्, ‘अहिले खानेबस्ने ठेगान छैन। यस्तै हो भने बाँच्ने पनि ठेगान छैन।’

‘कि काम दिनु पर्‍यो कि खाने बस्ने व्यवस्था गर्नुपर्‍यो, हैन भने त हामी तोडफोडमा उत्रिन्छौं,’ भोको पेटमा जेनिशको आक्रोश पोखियो।

उनले बारम्बार दोहोर्‍याए, ‘सर हाम्रो पीडा जसरी पनि सरकारलाई सुनाइदिनुहोला।’

विहान तिलगंगा वा गुहेश्वरी पुगेर निशुल्क पाइने एक प्याकेट खानाले चित्त बुझाउने र साँझको छाक रत्नपार्क गएर टार्ने धेरैको दैनिकी बनेको छ।

‘खल्तीमा सुको छैन, छ भने एकडेढ सय दिनुस, धर्म लाग्छ,’ नेपाल समयसँग जेनिशले भने।

साँझ तीन बजेपछि रत्नपार्क, खुलामञ्चमा एक छाक खानाका लागि लाम लागेका भोकाहरुको अवस्था कहाली लाग्दो देखिन्छ।
सुरुको लकडाउन अवधिमा रत्नपार्कमा खाना खोजेर हिड्नेहरुको संख्या अहिले निषेध आदेशका बेला झनै बढेको छ।

लकडाउनको अवधिमा धेरै श्रमिकहरु आ–आफ्नो गाउँ–घर फर्किए। तर, गाउँमा पनि काम केही पाइएन, खेतिपाती गर्न जमिन थिएन। गाउँमै खान लाउन धौ धौ भएपछि लकडाउन खुकुलो भएका उनीहरु फेरि काठमाडौं नै फर्किए। तर, फेरि जारी भएको निषेध आदेशले उनीहरु अहिले खाना खोज्न भौंंतारिनु परेको छ।

केही सामाजिक संस्था र व्यक्तिले निःशुल्क बाँड्ने खानाले राजधानीमा हजारौँ मजदुरको ज्यान बचेको छ।

रत्नपार्कमा रहेका यी अलपत्र मजदुर सरकारविरुद्ध आक्रोश पोख्छन्। तर, यीनको आक्रोश होस् वा याचना सरकारसम्म पुग्दैन, पुगे पनि सुनिंंदैन।

लकडाउन र निषेधाज्ञा थपेरै कोरोना महामारी नियन्त्रण हुन्छ भन्ने ठानेको सरकारले नागरिकको जीवन बचाउन÷थोरै सहज बनाउन अरु केही गरिरहेको छैन।

‘सरकारले एउटा नेतालाई सर्प पाल्न ७२ करोड दियो रे,’ डकर्मी पेशा गर्ने धनुषाका ४७ वर्षीय रत्नबहादुर तामाङले भने, ‘हामी यता भोकै मर्ने अवस्थामा छौं, सरकार उता सर्पलाई ७२ करोड खुवाउँदैछ।’

लकडाउनपछि बेरोजगार भएका रत्नबहादुर जता निःशुल्क खाना पाईन्छ भन्ने सुन्छन्, उतै दगुर्छन्। राति त्यही छेउँछाउको सडकपेटीमा विताउँछन्।

‘हातमा सिप छ तर, काम छैन। मागेर खान लाज लागे पनि पेटले लाज मान्दो रहेनछ,’ उनले भने।

‘यतिबेला चुनाव आउँदो हो त नेताहरु मतदाता खोज्दै आफ्नै खर्चमा गाउँ सम्म लग्थे होला, दैनिक भोज लाग्थ्यो। अहिले हामी भोकै मर्न लाग्दा पनि कसैले वास्ता गर्दैनन्’ सोलुखुम्बुका लाक्पा सेर्पा भन्छन्।

सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा राहतका नाममा १२ अर्ब बढी रकम खर्च गरेको विवरण सार्वजनिक गरे पनि उक्त राहतले यी रत्नपार्कमा भौंंतारिने मजदूरहरुलाई समेट्न सकेको छैन।

त्यसमाथि निरन्तर थपिदै गएको लकडाउनले दैनिक ज्याला मजदुरी खाने वर्ग भोकभोकै परेको छ।

 

 

प्रकाशित: Sep 06, 2020| 17:42 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।