शुक्रबार, भदौ १२, २०८३

कसले कस्तो मास्क लगाउने?

कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि मास्कको प्रयोग बढाउन व्यक्तिको उमेर, पेसा र रुचिअनुसार उत्पादन गर्नुपर्छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं– ‘बालबालिकाले कार्टुनलगायतका उनीहरुलाई रमाइलो लाग्ने चित्रहरु मास्कमा राख्दा त्यो मन पराएर मास्क लगाउन सक्छन्’, जनस्वास्थ्य विशेषज्ञ डा. रवीन्द्र पाण्डेले भने, ‘किशोरकिशोरीका फेन्सी खालको छुट्टै डिजाइनको मास्क रुचिकर हुन सक्छ।’

कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि मास्कको प्रयोग बढाउन व्यक्तिको उमेर, पेसा र रुचिअनुसार उत्पादन गर्नुपर्ने उनी बताउँछन्।

खेलप्रेमीका लागि खेलाडीको फोटो भएको त अरुका लागि सगरमाथा वा नेपालका सम्पदाको फोटो राखेको मास्क हुँदा खुसी हुन सक्छन्।

मास्कको प्रयोगलाई कोरोना संक्रमण रोक्ने सबैभन्दा बलियो अस्त्रका रुपमा हेरिएको छ। बजारमा अहिले पनि सबै उमेरका लागि फरक आकारका मास्क छैनन्।

जुत्ता, कपडाजस्तै यो पनि फरकफरक आकार र किसिमका हुनुपर्छ। उनले भने, ‘युवामा नै अलि दुब्लो मान्छेलाई समेत मिल्ने खालको मास्क पाइँदैन।’

एन ९५ वा के ९५, सर्जिकल र कपडाको मास्क गरी अहिले बजारमा तीन किसिमका मास्क पाइन्छ।  तीमध्ये एन ९५ माक्स भल्भ भएको र नभएको पनि बजारमा उपलब्ध छन्।

सर्जिकलभन्दा कपडाको बढी प्रभावकारी हुन्छ। एन ९५ वा के ९५ अस्पतालका लागि डिजाइन गरिएको माक्स हो। अरु मास्कको तुलनामा महँगो पर्ने भएकाले आमनागरिकले एन ९५ लगाउन जरुरी नभएको डा. पाण्डेको भनाइ छ। यो धोएपछि कसिलो नहुने भएकाले धेरै धुन मिल्दैन।

भल्भ भएको मास्क सास फेर्न र कुरा गर्न सजिलो भए पनि संक्रमितले यो लगाउँदा अरुलाई सर्न सक्ने सम्भावना छ। उनले भने, ‘यस्तो मास्कको प्रयोग आमनागरिकले नगरेकै राम्रो हो।’

तीन किसिमका मास्कसँगै बजारमा रुमाल वा पछ्यौरा, सल, गलबन्दी प्रयोग पनि बढिरहेको देखिन्छ।

पछिल्लो अनुसन्धानले एक दुई पचास, सय भाइरस प्रवेश गर्दैमा संक्रमण हुँदैन र संक्रमण हुन एकदेखि तीन हजार भाइरस आवश्यक पर्छ भन्ने देखाएको छ।

त्यसैले पनि मास्क वा अरु कपडाको प्रयोग गरी नाक, मुख छोप्दा भाइरसको लोड कम हुने डा‍. पाण्डेको धारणा छ।

आमनागरिकले दैनिक घरबाहिर निस्कँदा कपडाकै मास्क प्रयोग गर्नसक्ने पाण्डेको सुझाव छ।

कटन वा मलमल कपडाको दुई तीन पत्र बनाएर सिलाएको मास्कले संक्रमणबाट बच्न सघाउँछ।

कतिपयले एकभन्दा बढी मास्क लगाएको पाइन्छ। सुरक्षाका हिसाबले एक तहको मास्क एकभन्दा बढी लगाउनु राम्रो भएपनि यसबाट सास फेर्न गाह्रो हुन्छ।

बजारमा पाइने धेरै मास्कमा नाकको माथिल्लो भागमा च्याप्ने नभएको पाइएको छ। ती मास्कमा आफैंले पनि च्याप्ने कुरा हाल्न सकिने उहाँको धारणा छ। उनले भभने, ‘नाकमाथि च्यापेर गालाबाट हावा पस्न रोक्न सकिन्छ।’

चिकित्सकले लामो समयसम्म लगाउनुपर्ने हुँदा दैनिक परिवर्तन गरिराखे पनि आमनागरिकले एन ९५ वा के ९५ मास्क केही दिनसम्म प्रयोग गर्न सक्छन्।

यो मास्क वा कपडाको मास्क घर बाहिरबाट आएपछि घाममा सुकाउने र भोलिपल्ट लगाउने गरी प्रयोग गर्न सकिन्छ।

सर्जिकल मास्क धोएर प्रयोग गर्न मिल्दैन भने अरु घाम वा हावामा झुण्डाएर तीनचार दिन प्रयोग गर्न सकिन्छ।

मास्क धुँदा पनि सफा पानीमा भिजाएर हल्का मालिस गरे जसरी सफा गर्ने पाण्डेको सुझाव छ। उनले भने, 'मास्कलाई पानीमा छोपलेर झिक्ने गर्दा त्यसबाट रेसा निस्कँदैन।'

कस्तो मास्क लगाउने भन्नेसँगै कसरी मास्क लगाउने भन्ने कुराले पनि सङक्रमण रोक्न सकिन्छ। मास्क लगाउँदा कसिलो हुनुपर्छ र हावा छिर्ने हुनु हुँदैन।

पातलो मान्छे वा अनुहार सानो अनुहार लगाउँदा आँखामुनिको भागबाट हावा छिर्ने सम्भावना हुने भएकाले त्यसमा ध्यान दिनुपर्ने उनको सुझाव छ।

कोभड–१९ को रोकथामका लागि मास्क प्रयोगले सहयोग पुग्ने विभिन्न देशको प्रयोगको दरले देखिएको छ।

चीन, जापान, कोरिया, कम्बोडिया, भुटान, सिङ्गापुरलगातका ९० प्रतिशत बढी जनसङ्ख्याले मास्क प्रयोग गर्ने देशमा कोभिड चाँडो नियन्त्रणमा आएको पाइएको छ।

यी देशका नागरिकमा पहिलेदेखि नै विभिन्न भाइरसबाट बच्न मास्क लगाउने बानी थियो। अमेरिका, संयुक्त अधिराज्य र युरोपका देशहरुमा धेरैले मास्क लगाउनु सजाय ठान्छन्। अध्ययनहरुले संक्रमण उच्च गतिमा फैलिरहँदा पनि यहाँका २५ प्रतिशतभन्दा कमले मास्क लगाएको पाइएको थियो।

यिनै देशहरुमा पनि माक्सको प्रयोग भएका राज्यमा संक्रमण चाँडो नियन्त्रणमा आएको पाइएको डा. पाण्डेले जानकारी दिए।

पाण्डेले भने, ‘समूहमा बस्दा पनि सबैले मास्क लगाउँदा संक्रमणको जोखिम दुई तिहाई घट्छ।’

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि मास्कको प्रयोग बढाउनैपर्छ। सरकारले कडा नियम बनाएर मास्कको प्रयोग बढाउन सक्ने डा. पाण्डेको तर्क छ।

अहिले प्रशासनले मास्कको प्रयोग नगर्ने व्यक्तिलाई एक सय जरिबाना गर्दै आएकामा यसलाई बढाउनुपर्ने उहाँको सुझाव छ।

मास्क नलगाएकालाई कुनै पनि सेवा नदिइने नीति अवलम्बन गर्न खाँचो छ। उनले भने, ‘बस चढ्न, कार्यालय प्रवेश, होटल प्रवेश, पसलेले सामान नदिने गरी नियम बनाउनुपर्छ।’

अचेल धेरैले अरुसँग कुराकानी गर्दा चिउँडोमा मास्क लगाएको देखिन्छ। सबैभन्दा बढी संक्रमण नाकबाट फैलने हुँदा जुनसुकै समयमा नाक राम्ररी छोपिने खालको हुनुपर्छ। नाक छोपेपछि मुख पनि छोपिन्छ। उनले भने, 'चिउँडो वा घाँटीमा मास्क राख्दा पछि नाकमा मास्क लगाउँदा संक्रमण सर्नसक्छ।'

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी अझै पनि कतिपय व्यक्ति मास्कको प्रयोगका विषयमा सचेत नभएको बताए।

घरबाहिर निस्कनुपर्दा अनिवार्य रुपमा नाक र मुख ढाकिने गरी मास्क लगाउनुपर्नै उनको सुझाव छ। उनले भने, ‘मबाहेक अरु सबै सङ्क्रमित हो भन्ने सोचेर दूरी राख्ने र मास्कको प्रयोग गर्नुपर्छ।'

मास्क कहाँ लगाउने ?

मास्कको प्रयोग घरभित्र आफ्नो परिवार बस्दा लगाउनु पर्दैन। घरभित्र पनि जोखिम बर्ग ज्येष्ठ नागरिक वा दीर्घरोगी भएमा भने मास्क लगाउने र दूरी कायम गर्दा राम्रो हुने डा. पाण्डेको सुझाव छ।

कतिपय व्यक्तिमा संक्रमणको चिन्ताले घरभित्र वा बाहिर एक्लै हुँदा पनि मास्कको प्रयोग गरेको पाइन्छ।

मान्छेबाट नै संक्रमण सर्ने बढी सम्भावना भएकाले घर बाहिर पनि मान्छे नभएका ठाउँमा मास्क लगाउनु अनिवार्य हुँदैन। उनले भने, 'बाहिर निस्कँदा पनि मास्क बोकेर हिँडुनुपर्छ र कोही आएको देख्नासाथ लगाउनुपर्छ।' 

देशभरमा कोरोना संक्रमण बढिरहे पनि धेरैमा अहिले पनि यो त मेरो आफन्त वा सहकर्मी हो यसबाट कसरी सर्ला भन्ने रुपमा लिएको पाइन्छ। बाटोमा वा कार्यालयमा मास्क लगाउनुपर्छ।


मास्क प्रयोगका अरु पनि छन् फाइदा

कोभिड–१९ विश्वव्यापी भएसँगै प्रयोग बढेको मास्कको अरु फाइदा पनि छ। यसको प्रयोगले धुलो, धुवाँ र प्रदूषणबाट बचाउँछ। हावामा भएका अरु ब्याक्टेरिया भाइरस र धेरै रोगबाट बचाउन सघाउँछ।

मास्कको प्रयोगले क्षयरोग, फ्लु, रुघाखोकी, स्वायन फ्लु, बर्ड फ्लुबाट बचाउँछ। हात नियमित धुँदा यो वर्ष वर्षामा देखिने गरेको टाइफोइड, झाडाबान्ता, हैजा फैलिएको छैन।

तर यसका फाइदाहरु धेरै नै भए पनि मास्क लामो समय लगाउँदा श्वासप्रश्वासमा केही बाधा भने पुग्ने देखिएको छ। हामीले सास फेर्दा अक्सिजन लिएर कार्बनडाइअक्साइड फाल्ने सजिलो प्रक्रियामा केही बाधा यसले पुर्याउँछ। त्यसैले एक्लै हुँदा मास्क नलगाएकै राम्रो हो।

२८ हजार जनालाई कारबाही

सरकारले मास्कको प्रयोग अनिवार्य गरेको छ। नेपाल प्रहरीले सङ्क्रामक रोग नियन्त्रण ऐनका आधारमा काठमाडौँ उपत्यकामा अहिलेसम्म २८ हजार ३०६ जनालाई कारवाही गरेको महानगरीय प्रहरी कार्यालका प्रवक्ता सुशीलकुमार यादवले बताए।

उपत्यकामा मास्कको प्रयोग क्रमिक रुपमा बढिरहेको छ। उनले भने, ‘हामीले कारबाही बढाएकाले पनि यसको प्रयोग बढी मात्रामा भइरहेको हो भन्ने हामीले बुझेका छौं।’ रासस

प्रकाशित: Sep 06, 2020| 14:50 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।