काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनका अवसरमा एसिडपीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन्।
नेकपा स्थायी कमिटी सदस्य भट्टराईले नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर ५० हजार नगद प्रदान गरेका हुन्।
सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराईले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताए।
‘मलाई विश्वास छ, तपाई भविष्यमा डाक्टर बन्नुहुनेछ। मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोलि डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला,’ रकम हस्तान्तरण गर्दै भट्टराईले भने।
उनले एसिडपीडित बालिका खातुनसँग अप्ठेरो बेलामा मात्र नभएर सजिलो बेला पनि जिन्दगीभर सम्बन्ध रहिरहने बताए।
पीडित बालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिन अघि बालुवाटारमा बोलाएर उनको शिक्षाको सबै प्रबन्ध गरिने वचन दिएका थिए।
एक वर्षअघि घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवकले एसिड प्रहार गरेका थिए। एसिड प्रहारबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ।
मन्त्री भट्टराईले ०७२ सालदेखि नियमित रुपमा आफ्नो जन्मदिनमा असहाय, पीडित, विपन्न बालबालिकालाई सहयोग गर्दै आएका छन्।
०७२ को महाभूकम्पमा बाबु गुमाएका काठमाडौं मनमैजुका बालक विराज अधिकारीलाई सहयोग गरेका गरेका उनले ०७३ सालको जन्मदिनमा बाबुआमाले लिएको ऋण तिर्न नसकेपछि गोठालो बसेका दोर्जी शेर्पालाई उद्धार गरी काठमाडौं ल्याएर पठनपाठनको व्यवस्था मिलाएका थिए।
०७४ को जन्मदिनमा मुटुरोगी ताप्लेजुङका मिलन शेर्पाको उपचारमा सहयोग गरेका थिए। ०७५ को जन्मदिनमा ताप्लेजुङकै विपन्न दुई बालक गंगा विक र कमल विकलाई अध्ययन खर्चस्वरुप नगद सहयोग दिएका थिए।
गत वर्षको जन्मदिनमा मन्त्री भट्टराईले पढाइमा अप्ठेरोमा परेका दृष्टिविहीन आमाबुबाका सन्तान ताप्लेजुङका समीर राईलाई सहयोग गरेका थिए।