शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जयमन खातुनको विलौना- भाकल गरेर पाएको छोरो डाक्टरको लापरवाहीले गुमाएँ

जयमन खातुनको विलौना- भाकल गरेर पाएको छोरो डाक्टरको लापरवाहीले गुमाएँ

चिकित्सककै लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै अस्पताल प्रशासन र शिशुको उपचारमा खटिएका डा.कामेन्द्र यादव र अस्पतालविरुद्ध पीडित परिवारले जनकपुरधामस्थित जानकी प्रहरी चौकीमा निवेदन दर्ता गराएका छन्।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

जनकपुरधाम– जनकपुरधाममा चिकित्सकको लापरवाहीका कारण लगातार दुई जना बिरामीको मृत्यु भएको घटना सेलाउन नपाउँदै फेरि चिकित्सककै लापरवाहीले एक शिशुको ज्यान गएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको जनकपुर श्री राम हस्पिटल प्रालिमा उपचारका लागि ल्याइएका डेढ महिनाका शिशुको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको परिवारजनले आरोप लगाएका छन्।

मिथिला विहारी नगरपालिका वडा नम्बर ७ तारापट्टीका उस्मान नदाफका डेढ महिने छोरो फारुकले दुई– तीन दिनदेखि अचानक दिसापिसाब गर्न बन्द गरेपछि उनलाई बिहिबार बिहानै उपचारका लागि जनकपुर ल्याए। तर जनकपुर श्री राम हस्पिटल प्रालिको गेट अगाडि पुग्नेबित्तिकै फारुकले दिसापिसाब सबै गरे।

छोरोको सामान्य अवस्था देखेर परिवारका केही सदस्यले घर लैजान भने, तर उस्मानको मन भने मानेन। उनी अस्पतालको गेटमै पुगिसकेकाले एकपटक डाक्टरसँग सल्लाह गरी घर फर्किने निर्णय गरे र छोरोलाई लिएर अस्पताल छिरे। अस्पतालमा डाक्टर कामेन्द्र यादवले शिशुको अवस्था सामान्य रहे पनि १ दिन चिकित्सकको निगरानीमा राख्न सुझाव दिए र त्यही अनुरुप उस्मानले बच्चालाई इमरजेन्सीमै भर्ना गरे।

‘दिनभर एकदम सामान्य रहेको छोरोलाई राति अचानक श्वासप्रश्वासमा समस्या आयो,’ उस्मानले भने, ‘त्यसपछि हामीले चिकित्सकलाई बोलायौँ। उनीहरुले औषधी लेखिदिए र त्यहीअनुसार बाबुलाई नर्सहरुले नाकमा ड्रप हालिदिए। स्लाइनमा औषधी राखेर चढाए। तरपनि छोराको अवस्था सुधार भएन, झन् झन् बिग्रिँदै गयो।’

आफूहरुले ‘यहाँ ठिक नभए डिस्चार्ज गरिदिन्, हामी अर्कै हस्पिटल लग्छौँ’ भन्दा पनि चिकित्सकहरुले यहीँ ठिक भइहाल्ने बताएको मृतक शिशुकी आमा जयमन खातुनले बताइन्। भनिन्, ‘बच्चा ठिक थिएन भने रिफर गरिदिनुपर्थ्यो। पैसाको लोभमा रिफर नै गरेनन्। औषधीको ओभरडोज दिएर मेरो बच्चालाई मारिदिए।’

बिहानसम्म सामान्य रहेको शिशुको मृत्यु भएपछि आक्रोशित परिवारजनले उपचारमा संलग्न चिकित्सकलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्। चिकित्सककै लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै अस्पताल प्रशासन र शिशुको उपचारमा खटिएका डा.कामेन्द्र यादव र अस्पतालविरुद्ध मृतक बालकका फुपुका भाइ भुल्ला नदाफले जनकपुरधामस्थित जानकी प्रहरी चौकीमा निवेदन दर्ता गराएका छन्।

आफूले छोरा गुमाएजस्तै अरुले नगुमाउनु परोस् भन्दै ज्यानमारा अस्पताल बन्द गर्नुपर्ने र उपचारको नाममा लापरबाही गर्ने चिकित्सकमाथि कारबाही हुनुपर्ने बालकका बुवा उस्मान नदाफले माग गरे।

उस्मान नदाफ र जयमन खातुनको ४ जना छोरी थिए। छोरा पाउनका लागि ती दम्पत्ती कयौं चिकित्सककहाँ पुगेका थिए। ‘कहाँकहाँ गएर पटक पटक दरगाह गएर भाकल गरी, हकिम वैद्य समक्ष पुगेर छोरा मागेका थियौँ,’ भावुक हुँदै उस्मानले भने, ‘ज्यानमारा डाक्टरले छिनमै हाम्रा भविष्य खोसेर लगे।’

यता अस्पताल प्रशासनका प्रमुख अमित कुमारले चिकित्सकको लापरबाही नभई आमाको जिद्दीका कारण बालकको मृत्यु भएको दावी गरेका छन्।

‘शिशुलाई उपचारका लागि भर्ना गरे लगत्तै चिकित्सकहरुले ती बालकको नाकमा राख्नका लागि नोजल ड्रप र प्रिनाकोटको सय एमजी मध्ये १५ एमजी दिनका लागि भने पनि शिशुको अवस्थामा तत्काल सुधार नआएपछि जयमन आफैँले डोजभन्दा बढी थप दुई थोपा शिशुको नाकमा हालेकी थिइन्,’ उनले भने, ‘चिकित्सकले सक्सन अर्थात् श्वास नली सफा गर्न बाँकी नै रहेको बेला बच्चालाई दूध खुवाएको, दूध पच्न नसकेकै कारण बच्चा सर्केको हो। जसका कारण उनको तत्कालै मृत्यु भएको हो।’

प्रकाशित: Sep 06, 2020| 06:20 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।