काठमाडौं- वैदेशिक रोजगारीका क्रममा बहराइनमा बस्दा भएको लेनदेन सम्बन्धी विवादमा झापामा एक युवकले आफ्नै साथीको हत्या गरेको खुलेको छ।
जिल्लाको शिवसताक्षी नगरपालिका-८ का ३२ वर्षीय मनकुमार लिम्बूले सोही नगरपालिका-११ का २९ वर्षीय गोमनसिंह मगरको हत्या गरेको खुलेको हो।
तीन दिन पहिले गाउँकै जंगलमा मृत अवस्थामा भेटिएका गोमनसिंहको हत्या मनकुमारले गरेको खुलेको झापा प्रहरीले जनाएको छ।
झापा प्रहरी प्रवक्ता डिएसपी राकेश थापाका अनुसार बहराइनमा लामो समयदेखि सँगै काम गरेर ६ महिना पहिले घर फर्किएका उनीहरुबीच लेनदेन सम्बन्धी विवाद थियो।
घटना भएको साँझतिर हावा खान जाऔँ भनी मृतककै मोटरसाइकलमा चढेर दुबै जना जंगलतिर जाने क्रममा गुडिरहेको मोटरसाइकलमै पछाडिबाट मनकुमारले धारिलो हतियारले घाँटीमा प्रहार गरेको खुलेको थापाले जानकारी दिए।
गोमनसिंह ढलेपछि मोटरसाइकल जंगलमा लगेर छोडेर पुन आई पटकपटक प्रहार गरी उनको हत्या गरेको बयान दिएको थापाले बताए।
‘मनकुमारले दुई जनाबीचको लेनदेनको हिसाब कसैले पनि बुझ्न सक्दैनन् भन्छन्’ थापाले भने, ‘दुई जनाबीचको लेनदेनको हिसाब राखेको रजिष्टरसमेत बरामद गरेर अनुसन्धान गर्दैछौँ।’