काठमाडौं- जाउलाखोलस्थित अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीया गीता केसीको हत्या आशंकामा प्रहरीले भतिजा नाता पर्ने युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा निर्मल केसी छन्। उनलाई भैंसीपाटी क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
हत्या गरेर फालिएको अवस्थामा गीताको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा शुक्रबार बेलुकी भेटिएको थियो।
प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ।
गीताको परिवारले उनी हराएको भन्दै भदौ १७ गते प्रहरीमा निवेदन दिएको थियो। १७ गते बिहान अफिस जान्छु भनेर हिँडेकी गीता घर नफर्किएको प्रहरीले जनाएको छ।
प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।
शनिबार बिहान उक्त शव गीताको भएको पुष्टि भएको राईले जानकारी दिए। गीता हराएको निवेदन आउनेवित्तिकै प्रहरीले उनको भतिजा नाता पर्ने निर्मललाई शंकाको घेरामा राखेको थियो।
‘निर्मलले गीतालाई प्रायजसो अस्पताल लिने ल्याउने गर्थे त्यही भएर उनलाई सुरुदेखि नै निगरानीमा राखिएको थियो’ राईले भने, ‘उनको गतिविधिसमेत शंकास्पद देखिएकाले नियन्त्रमा लिएर अनुसन्धान थालिएको छ।’
गीताको शव पोष्टमार्टमका लागि पाटन अस्पताल पुर्याइएको राईले जानकारी दिए।