काठमाडौं- अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्ने भएका छन्।
दुबै मन्त्रालयको जिम्मेवारीमा रहेका डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएपछि अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने गरी तोकेकी छन्।
प्रधानमन्त्रीकै सिफारिसमा जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ। मन्त्री खतिवडाले दिएको राजीनामा र जिम्मेवारी हेरफेरका बारेमा राष्ट्रपतिको कार्यालयलाई जानकारी दिइएको थियो।
