काठमाडौं- पत्रकारको ज्याकेट लगाएर हातमा क्यामेरा बोक्दै बिहीबार पुल्चोकमा प्रहरीलाई ढुंगा हान्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
रातो मत्स्येन्द्रनाथको रथ तान्ने स्थानीय युवक र प्रहरीसँगको झडपमा प्रहरीलाई ढुंगा हान्ने युवकलाई शुक्रबार महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३ इमाडोलका २१ वर्षका अनिश महर्जन छन्।
अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले उनी कुनै सञ्चार माध्यममा संलग्न नरहेको र प्रेस कार्ड पनि नभएको पाइएको जानकारी दिए।
उनीसहित रथ तान्ने क्रममा प्रहरीलाई ढुंगामुढा गर्ने १३ जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ।