पोखरा- कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि पोखरा महानगरपालिकाका विभिन्न वडा एक हप्ताका लागि सिल गरिएको छ।
महानगरका वडा नं. १०, १२ र १३ का अध्यक्षहरुको संयुक्त बैठकले तीनवटै वडा एक हप्ताका लागि सिल गर्ने निर्णय गरेको हो।
ती वडामा आज (भदौ १९ गते) राति १२ बजेदेखि २६ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन्।
खाद्यान्न तथा तरकारी पसलहरु बिहान ११ बजेदेखि २ बजेसम्म खोल्न पाइनेछ।
स्वास्थ्य तथा एम्बुलेन्स सेवालाई रोक लगाइएको छैन।
यो अवधिमा स्यानिटाइजर, मास्क, भौतिक दूरी जस्ता कोरोनाबाट बच्ने उपायहरु अपनाउन वडाहरुले आग्रह गरेका छन्।
